धनगढी । हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा रहेको चैतन्य पाठशालाले सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका १२ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
आज आयोजित एक समारोहकाबिच सामाजिक विकासमन्त्री मेघराज खड्काले उनीहरुलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
खोखो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली उपविजेता बनेको थियो । चैतन्यले महिला टिमका कप्तान सरस्वती कडायत, मनमती धामी, पूजा ओड, खुश्बु राना, वर्षा पण्डितलाई सम्मान गरेको छ । त्यसैगरी, पुरुषतर्फ टिम कप्तान हेमराज पनेरु, विवश चौधरी, जोगेन्द्र राना, सुरज पुजारा, समिर चन्द, गणेश विक र जनक चन्दलाई सम्मान गरेको छ ।
यसैगरी, टिम व्यवस्थापक कृष्ण पनेरु र अन्तर्राष्ट्रिय खोखो निर्णायक राजकुमार चौधरीलाई पनि नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री खड्काले खेलाडीले मुलुकको नाम विश्वमा चम्काएर सुदूरपश्चिम प्रदेशलाई गौरवान्वित बनाएको बताए ।