धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ । चैतन्यले सरस्वती पूजाको अवसर पारेर महासङ्घलाई दुई थान कम्प्युटर, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहयोग गरेको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले महासङ्घका अध्यक्ष श्रवण देउवालाई सो सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्री खड्काले शिक्षा र संस्कारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चैतन्य पाठशालाले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम गर्दैआएको भन्दै प्रशंसा गर्नुभयो ।
चैतन्यले सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै महासङ्घका अध्यक्ष देउवाले केही दिनभित्र महासङ्घले सूचना केन्द्र स्थापना गर्ने बताउनुभयो । कार्यक्रममा चैतन्य पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशी, प्रिन्सिपल कटकबहादुर सिंहलगायतको उपस्थिति थियो ।