धनगढी: बाजुराको पाण्डुसेन क्षेत्रका जनजाति परिवारहरूले अछामको मंगलसेन, मेल्लेख, साँफेबगर, चौखुट्टेलगायत ठाउँमा चिसो छल्न र चरिचरनका लागि लगिएका एक सय बढी भेडा मरेका छन् । यतिबेला अछामको मंगलसेन नगरपालिका–९ ओलीगाउँ क्षेत्रमा, अछामको मेल्लेख गाउँपालिकाको सरानी, साँफे नगरपालिकाको मार्कु, चौखुट्टे, श्रीकोटलगायत ठाउँमा एक सय बढी भेडा मरेको भेडापालक किसान परिवारले बताएका छन् ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिनको अवधिमा मेल्लेख गाउँपालिकाको सरानीमा पाण्डुसेनका काँशी बोगटी, नरेन्द्र थापा, पेमा गुरुङलगायत ६ परिवारका ४० भन्दा बढी भेडा मरेको पाण्डुसेनका स्थानीय प्रेम थापाले बताए । बाजुराको बुढीनन्दा नगरपालिकाबाट उपचार र अनुगमनका लागि खटाइएका थापाका अनुसार मंगलसेनमा करिब एक सय बढी भेडा मरेका छन् । पाण्डुसेनका फुर्मा भण्डारीका १० र भीउपानीका १५ भेडा मरेको थापाले बताए । साँफेबगर, चौखट्टेमा पनि मरेका छन् । बाजुराको पाण्डुसेनबाट चरिचरनका लागि एक हजार बढी भेडा अछामको मेल्लेखमा ल्याइएका छन् ।
यसरी अछामका विभिन्न ठाउँमा रहेका बाजुराको पाण्डुसेन क्षेत्रका भेडाहरू सयौं संख्यामा मरेपछि किसानहरू हैरान भएका छन् । ‘कति भेडा मरे भन्ने यकिन विवरण संकलन गर्न सकिएको छैन,’ नगरपालिकाबाट खटिएका थापाले भने, ‘भेटनरी डाक्टरसहित पुगेको हाम्रो टोलीले सक्दो उपचार गरिरहेको छ । तथ्यांक संकलन गर्न भ्याइएको छैन ।’ पशु चिकित्सक पाण्डेका अनुसार भेडालाई पखाला लाग्ने, आँखा राता हुने, लिभरमा खराबी देखिएको छ । ‘रोग यकिन भएको छैन । स्याम्पल कलेक्सन गरेर पठाउन भनेका छन् । कलेक्सन गरेर मंगलसेन पठाएका छौं,’ डा. पाण्डेले भने, ‘मंगलसेन, मेल्लेख, चौखुट्टेलगायत ठाउँमा रातारात पुगेर सक्दो उपचार गरिरहेका छौं ।’
धमाधम भेडा मर्न थालेपछि बुढीनन्दा नगरपालिकाले पशु चिकित्सकसहितको टोली दुई दिनअघि अछाम पठाएको हो । बुढीनन्दा नगरपालिकाका पशु चिकित्सक पदमराज पाण्डेसहित पशु प्राविधिक विनोदकुमार बोहरा र प्रेमबहादुर थापासहितको टोली स्थलगत अनुगमन र उपचारमा खटाइएको बुढीनन्दाका नगर प्रमुख जनककुमार बोहराले बताए । ‘हिउँदमा जाडो छल्न र भेडाको चरिचरनका लागि अछाममा जाने पाण्डुसेनका जनजाति परिवारहरू धमाधम भेडा मर्न थालेपछि ठूलै नोक्सानी व्यहोर्न बाध्य भएका छन्,’ उनले भने, ‘सम्पत्तिका नाममा भेडा मात्र हुने जनजाति परिवारमा तिनै भेडा पनि अज्ञात रोगले धमाधम मर्न थालेपछि चिन्तित बनाएको छ । पशु चिकित्सकको टोली पठाएर सक्दो प्रयास गरिरहेका छौं ।ुसर्वसाधारण किसानको क्षति मूल्यांकन गरेर प्रदेश र संघ सरकारबाट पनि राहत र क्षतिपूर्ति उपलब्ध गराउन तत्काल ध्यानाकर्षण गराउने पनि उनले बताए ।
बाजुराको पाण्डुसेन क्षेत्रका ६ हजारभन्दा बढी भेडा यतिबेला अछामका विभिन्न ठाउँमा रहेको नगर प्रमुख बोहराले बताए । एउटा भेडाको मूल्य २५ देखि ३५ हजार रुपैयाँसम्म पर्छ ।कान्तिपुरबाट