धनगढी : क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो । आयोजक गो ड्रिमर्सले शुक्रबार धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पुर्ण तयारी सकिएको र दर्शकलाई नगद एक लाख र एयरपोड दीइने जानकारी दिएको छ ।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । साथै अन्य क्याचहरुमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ । यसका साथै खल्ती एफले क्याच गर्ने दर्शकहरुमध्येबाट दैनिक रुपमा एक जनालाई एयर बड सहितको पुरस्कार पनि दिने भएको छ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको गो ड्रिमर्सका अध्यक्ष सुवाश बी शाहीले जानकारी दिए ।
‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ ।’ अध्यक्ष शाहीले भने–‘ अन्य सम्पुर्ण तयारी पनि सकिएका छन् । व्यवस्थापनका सम्पुर्ण कामहरु पनि पुरा भएका छन् । प्रतियोगिता उद्घाटनको पर्खाईमा रहेका छौं ।’ शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन हुनेछ । धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्नेछ ।