धनगढी: नेपाल क्रिकेट संघ ९क्यान०को वार्षिक क्यालेण्डरमा समावेश अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा आमने सामने हुँदैछन्। खेल दिउँसो १२:१५ बजे शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्दैछन् ।
ट्रफी अनावरण भने मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन्। यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् । गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमको पनि प्रस्तुति रहने छ । प्रतियोगितामा दर्शकलाई थप आकर्षित गर्न विभिन्न योजना ल्याइएको आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले बताए । उनका अनुसार प्रतियोगिताको पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार जित्नेछन्। धनगढीको ब्रेड बक्सले मैदान बाहिर बसेर छक्का भएको बल क्याच गर्ने दर्शकलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। खल्ती एपले दैनिक रूपमा एक भाग्यशाली क्याच गर्ने दर्शकलाई एयर बडसहितको पुरस्कार दिनेछ।
खल्ती एपबाट प्रत्यक्ष टिकट बुकिङको सुविधा दिइएको छ, जहाँ भीआईपी टिकट २०० रुपैयाँ र साधारण टिकट १०० रुपैयाँ रहेको छ। धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यो टी-२० फर्म्याटको प्रतियोगिता हो, जसमा झण्डै २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई १० लाख र उपविजेता टोलीलाई ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताको सर्वोत्तम खेलाडीलाई १ लाख रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई ५०\५० हजार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। अर्जुन ट्रफी प्रतियोगिता धनगढीका क्रिकेट प्रेमी अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको हो । स्वर्गीय खड्काले सुदूरपश्चिम क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले धेरै नेपाली क्रिकेटर उत्पादन गर्न योगदान पुर्याएका थिए।
प्रतियोगिताका खेलहरू फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नयाँ चारवटा पिचमा खेलाइनेछन्। साथै, दर्शकलाई सहज बनाउन कृत्रिम प्याराफिट जडान गरिएको छ ।