धनगढी: सुदूरपश्चिमलाई तराई र पहाडसँग जोड्ने बिन्दुसमेत रहेको कैलालीको अत्तरिया बजारमा यौनधन्दा मौलाएको बताइएको छ। स्थानीयका अनुसार पछिल्लो समय होटलहरुमा खुलेआम यौनधन्दा फस्टाएको हो। उता प्रहरीले भने त्यसको निर्मुलमा काम गरिरहेको भनेपनी नियन्त्रण हुन नसकेको देखिन्छ। हिजोमात्रै अत्तरियाको कल्पना होटलमा अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका-२ को पहाड रोडमा रहेको १ नम्बर गल्लीमा कलावती साउदले सञ्चालन गरेको कल्पना होटलबाट गएराति अनैतिक क्रियाकलापमा संलग्न जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले अनैतिक क्रियाकलापमा संलग्न बझाङको छविसपाथिभेरा गाउँपालिका-५ का ४० वर्षीय मिनबहादुर धामी र बुंगल नगरपालिका-२ बस्ने ३५ वर्षीय लिला बोहरालाई पक्राउ गरिएको बताए।
दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यसअघि केही समयअघि प्रहरीले सत्कार होटलबाट समेत अनैतिक गतिविधिमा संलग्न जोडीलाई पक्राउ गरेको थियो।