धनगढी: नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले सुदूरपश्चिमका विभिन्न दुर्घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मन्त्री भण्डारीले सिगास गाउँपालिका १ मा बलेरो जिप दुर्घटनामा घाइते भई निसर्ग अस्पताल धनगढीमा उपचाररत निरा धामी, हेमन्ती धामी लगायतका बिरामीहरूलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। साथै, उनले चिकित्सकहरूसँग उपचार प्रक्रियाबारे छलफल गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
त्यस्तै, मन्त्री भण्डारीले धनगढी उपमहानगरपालिका १३ मा मोटरसाइकल दुर्घटनामा परेर माया मेट्रो अस्पतालमा उपचाररत मनोज शर्माको अवस्थाबारे पनि जानकारी लिएका छन्। मन्त्री भण्डारीले अस्पताल प्रशासनसँग उपचार व्यवस्थाबारे बुझ्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्। साथै, उनले सरकार घाइतेहरूको शीघ्र स्वास्थ्य सुधारका लागि आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे।