धनगढी: अछाम घटनामा प्रहरी सफलता नजिक पुगेको छ। प्रहरीले ज्यान मुद्दामा सफल अनुसन्धान भैरहेको भन्दै भोलि पर्सिभित्रै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी गरिएको अछाम प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार भोलि कार्यालय खुल्ने बित्तिकै पक्राउ परेका २ किशोरमाथि म्याद थप गर्दै उनीहरूको बयान प्रमाणीत गरिने छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटनालाई हत्या भएको हुनसक्ने कोणबाट मात्रै अनुसन्धान गरेकोमा बलात्कार प्रयास पनि भएको हुनसक्ने अनुमान गरेको छ।
त्यसका लागि प्राविधिक चेकजाँचको पाटो प्रक्रियामा रहेको बताइएको छ। त्यसपछि थप खुल्ने प्रहरीको दाबी छ। अस्ति शनिबार अछामको ढकारीमा २ किशोरी मृत फेला परेका थिए। शनिबार साँझ ढकारी गाउँपालिका–१ स्थित जंगलमा १५ वर्षीया ईश्वरी खड्का र १४ वर्षकी सरस्वती खड्काको शव फेला परेको थियो। नातामा फुपू–भदैनी उनीहरू दुवै कमलबजार नगरपालिकास्थित विद्यालयमा कक्षा–८ मा अध्ययनरत थिए।
ढकारी गाउँपालिका–८ का बासिन्दा उनीहरू शुक्रबार बाख्रा चराउन जंगल गएका थिए। तर, घर फर्किएनन्। उनीहरू शनिबार समेत घर नफर्किएपछि आफन्त खोजीमा निस्किएका थिए। त्यसपछि उनीहरू मृत फेला परेका थिए। उनीहरूका बाख्रा भने शुक्रबार नै आधा बाटोसम्म आफैँ फर्किएको र त्यसपछि छिमेकीले घरसम्म पुर्याइदिएका थिए। घटना भएपछि प्रहरीले अनुसन्धानका निम्ति संघीय प्रहरी कार्यालय नेपालगन्जबाट तालिमप्राप्त कुकुर समेत प्रयोग गरेको थियो। शनिबार साँझ शव फेला परे पनि प्रहरीको टोली आइतबार मात्र घटनास्थलमा पुगेको थियो।
त्यसलगत्तै अछाम प्रहरीले अनुसन्धान गरेकोमा अनुसन्धानकै क्रममा डडेल्धुराका इन्सपेक्टर उपेन्द्र बम पनि त्यहाँ गएका थिए। त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक प्रहरी टोली, प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम महेन्द्रनगरबाट अपराध अनुसन्धानमा काबिल मानिने सईद्वय सुशील चन्द र पदम थापा पनि घटनाको अनुसन्धानमा खटिएका थिए। उनीहरू भने आज अछामबाट फर्किएको बताइन्छ।
सोही क्रममा किशोरी घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) सूर्य शाही नेतृत्वको टोली पनि खटिएको छ। सीआईबीबाहेक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि अनुसन्धान टोलीसहित अछाम पुगेका थिए। उनी घटनास्थल अनुगमन, आफन्तसँग भेट गर्दै आज डडेल्धुरा फर्किएको बुझिएको छ।
मृतकका आफन्तसँग डीआईजी गणेश चन्द
प्रहरीले पक्राउ गरिएका २ जना किशोरबाहेक अरू केही मानिसलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएका दुई किशोर १५ र १७ वर्षका छन्। घटनास्थलमै पुगेर अनुसन्धानलाई मनिटरिङ गरेका डीआईजी चन्दले विभिन्न कोणबाट अनुसन्धान भैरहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनले भने, ‘‘प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ। प्रहरी नतिजा नजिक पुगेको र हामी सकारात्मक छौं। अनुसन्धानको दायरा साँघुरिएको छ।’’
प्रहरीले मृतकहरुका शव पोस्टमार्टमका निम्ति आइतबारै बाँकेको कोहलपुर पठाएको थियो। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको अवस्थामै मृतकको अन्त्येष्टि गरिएको छ। मृतकका टाउकोमा गम्भीर चोट लागेको प्रहरी अनुसन्धानका क्रममा देखिएको थियो। उक्त चोटका कारण रगत समेत बगेको देखिएको थियो। शव फेला परेको ठाउँमा नभएर घटना अन्तै भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘बलात्कार प्रयास गरेको अर्थात् यौन सम्पर्कको प्रस्ताव गरेकोमा किशोरीले नमान्दा घटना भएकोजस्तो देखिन्छ। उनीहरूको हत्या भएको नै भन्ने निष्कर्ष हाम्रो छ। टाउकामा ढुंगा प्रहार गरी हत्या गरिएको देखिन्छ।’’ उनीहरूका शरीरमा समेत केही घाउ देखिएको छ।
उनीहरूले पढेको विद्यालयमै कक्षा–१० मा अध्ययनरत एक किशोरसँग ईश्वरीको फोन सम्पर्क भएको खुलेको छ। उनीहरूले यसअघि समेत फोनमा कुराकानी गर्ने गरेको प्रहरीले जनाएको छ। ती किशोर शुक्रबार ईश्वरी र सरस्वतीले बाख्रा चराउन लिएर गएको जंगलनजिकै पुगेका थिए। किशोरीहरूको हत्या शुक्रबार दिउँसो ३ बजेभन्दा अघि नै भएको प्रहरीको अनुमान छ।
उनीहरूले चराउन लगेका बाख्रा दिउँसो ३ बजेपछि आफैँ फर्किएर आफन्तको बारीमा पसेका थिए। बारीमा पसेर गहुँ खान थालेपछि छिमेकीले नै बाख्रा घर पठाइदिएका थिए। ईश्वरीका आफन्तले कक्षा–१० मा अध्ययनरत किशोरलाई फोन गरी उनीबारे चासो समेत राखेका थिए। तर, ती किशोरले ‘तपाईंको छोरी हामीसँग छैनन्, खोज्न जानू’ भनी जवाफ फर्काएको खुलेको छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, ईश्वरी र सरस्वतीको हत्यापूर्व अरू केही शंकास्पद प्रयास समेत भएको देखिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेका कारण प्रहरीले यसबारे थप विवरण सार्वजनिक गरेको छैन। यो घटनालाई प्रहरीले सुरुमा भवितव्य भएको आशंका गरेको थियो तर प्रत्यक्षदर्शीले केही व्यक्तिहरूले माथिबाट ढुंगा खसाल्दै गरेको देखेको बयान दिएपछि प्रहरीले गम्भीर रुपमा अनुसन्धान अघि बढाएको थियो।
हाल प्रहरीको नियन्त्रणमा रहेका किशोरहरूलाई पनि प्रत्यक्षदर्शीको बयानका आधारमा पक्राउ गरिएको थियो। त्यसपछि उनीहरूविरुद्ध किटानी जाहेरी पनि परेको छ।