बैतडी: उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । दशरथचन्द नगरपालिकास्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले शासकीय स्वरुपमा परिवर्तन ल्याउने गरेर संविधान संशोधन हुने स्पष्ट पारे । अहिले कुनै एक दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नरहेको र यसले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै मन्त्री भण्डारीले राजनीति स्थायित्वका लागि शासकीय स्वरुपमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
वर्तमान सरकार नागरिकका आधारभूत आवश्यकता पूर्ती गर्नेतर्फ क्रियाशील रहेको बताउँदै मन्त्री भण्डारी केही नीतिगत र कानुनी समस्याका कारण लगानीको वातावरण बन्न नसकेको दाबी गरे । लगानीको वातावरण सिर्जना गर्नकै लागि अध्यादेशमार्फत केही कानुनहरुमा संशोधन गरिएको उनले बताए । अध्यादेशमार्फत ल्याएका कानुनहरु माघ १८ गतेदेखि सञ्चालन हुने संसदको हिउँदे अधिवेशनले पारित गर्ने समेत उनले बताए । संसदमा विचाराधिन रहेका अन्य कानुनहरु पनि हिउँदे अधिवेशनले पारित गर्ने उनले दाबी गरे । सरकारले सदनलाई भरमार बिजनेस दिने मन्त्री भण्डारीको दाबी छ । उनले भने,‘सरकारले संसदको अधिवेशनमा भरमार बिजनेस दिन्छ । हामी संसदलाई फलदायी बनाउने दिशामा केन्द्रित रहेका छौं ।’
देशमा सुशासन, विकास र स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाएको दाबी गर्दै मन्त्री भण्डारीले नागरिकमा रहेका तमाम निराशाहरुलाई चिर्न सरकारले काम गरिरहेको बताए । अहिले अवस्थामा राजस्व संकलन कम भइरहेको भन्दै मन्त्री भण्डारीले राजस्व संकलन हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । आयात प्रतिस्थापन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी र विदेशी लगानी भित्र्याउने लगायतका काममा आफ्नो मन्त्रालयले काम गरिरहेको मन्त्री भण्डारीले बताए । एक अर्को प्रसंगमा भारतसंग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि आवश्यक पहल भइरहेको बताए । महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि भारत सकारात्मक रहेको र काम अघि बढ्ने उनले बताए । यस्तै डडेल्धुराको शीर्षमा पनि महाकाली नदीमाथि झोलुंगे पुल निर्माण हुने उनले दाबी गरे ।
कञ्चनपुरको दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढेको बताउँदै मन्त्री भण्डारीले यसले यो क्षेत्रको विकासमा टेवा पुग्ने बताए । पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराईले पहाड रित्तिने अवस्था आएकोले यसलाई रोक्ने हिसाबले सरकारी कार्यक्रम अघि बढाउने उनले बताए । आवश्यकताका आधारमा विकास गर्नुपर्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको उनले बताए । राजनीतिक स्थायित्व नहुँदा सम्म विकास नहुने भएकाले राजनीतिक स्थायित्वका लागि सबै दलहरु क्रियाशील हुनुपर्ने मन्त्री भण्डारीले बताए ।
यस्तै उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले जिल्लामा रहेका तमाम समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । प्रदेश सरकारबाट सञ्चालन गर्न सकिने सबै कार्यक्रमहरु जिल्लामा सञ्चालन गर्ने उनले बताए । आगामी बर्षमा निङ्गलाशैनी भगवती मन्दिरका लागि बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता समेत जनाए ।