धनगढी: कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित धनगढीमा प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ माघ २६ गतेदेखि सुरु हुने भएको छ । मेला यही माघ २६ देखी ३० गतेसम्म घनगढी उपमहानगरपालीका।१ पशुपति टोलमा सञ्चालन हुने भएको छ । प्रदेशको कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको विकासमा हालसम्म भएका उपलब्धिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै, प्रदेशका नौ वटै जिल्लामा उत्पादित कृषि, पशुपन्छी तथा मत्स्यजन्य बाली\वस्तुहरूको प्रदर्शनी एवं खरिद–बिक्रीको सुविधा समेत रहेको छ।
कृषि विकास निर्देशनालय, डोटीका प्रचार प्रसार संयोजक राजेन्द्र बम भने, ‘यस प्रदर्शनीमार्फत कृषकहरूले रैथाने तथा स्थानीय उत्पादनहरू हेर्न, सिक्न र व्यापार गर्न पाउनेछन्। साथै, कृषि, पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका समसामयिक विषयमा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त हुनेछ। ’ यो मेला सुदूरपश्चिम प्रदेशको कृषि, पशुपन्छी, र मत्स्य क्षेत्रको सुधार र सम्बृद्धिका लागि महत्त्वपूर्ण कदमी भएको मेला संयोजक तथा कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्र प्रसाद शर्माले बताए । उनले भने , ‘स्थानीय उत्पादनहरूप्रति ध्यानाकर्षण गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पु¥याउनेछ। हाम्रो प्रदेशमा कृषि क्षेत्रको अपार सम्भावना छ। यो मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र कृषकहरूको आम्दानी वृद्धि गर्ने अवसर सिर्जना गर्नेछ ।’
प्रदेशका सम्पूर्ण कृषक, सहकारी समूह, कृषि फार्महरू, उद्यमी व्यवसायीहरू, कृषि वा पशुपन्छी अध्ययन गरिरहेका विद्यार्थीहरू, र आम उपभोक्ता वर्गलाई यस मेलामा सहभागी भई प्रत्यक्ष लाभ लिई अवलोकन गर्न समेत आयोजकले अनुरोध गरेको छ । कृषि विकास निर्देशनालय, दिपायल, डोटीको आयोजनामा सञ्चालन हुन लागेको मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन, कृषि तथा पशुपालनका नवीनतम प्रविधिहरूको प्रदर्शन तथा किसानहरूका लागि विभिन्न कार्यशाला समावेश गरिएका छन्। आयोजकका अनुसार मेलाले प्रदेशभरका कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्ने अपेक्षा गरिएको छ ।