धनगढी: कैलालीको रानी जमरा कुलरिया सिँचाइ योजनाको तेस्रो चरण अन्तर्गत पथरैया पश्चिम कान्द्रासम्म सिँचाइ सुविधा विस्तार गर्न प्रारम्भिक छलफल सम्पन्न भएको छ। यस चरणमा करिब १८,००० हेक्टर जमिनमा बार्है महिना सिँचाइ सुविधा पुर्याउन भौतिक पूर्वाधार विकास मन्त्रालयमा (आइतबार) महत्त्वपूर्ण बैठक आयोजना गरिएको हो। बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुरेन्द्र बहादुर पाल, मन्त्रालयका सचिव, रानी जमरा कुलरिया सिँचाइ आयोजनाका अध्यक्ष, निर्देशक, तथा सिनियर डिभिजनल इन्जिनियर लगायतको उपस्थिति थियो। छलफलका क्रममा सिँचाइ विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार, बजेट, तथा प्राविधिक पक्षका बारेमा छलफल गरिएको छ।
रानी जमरा कुलरिया सिँचाइ योजना देशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो, जसले कृषि उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण योगदान दिँदै आएको छ। तेस्रो चरण सम्पन्न भएपछि थप जमिनमा वर्षभर सिँचाइ सुविधा उपलब्ध हुने विश्वास लिइएको छ। मन्त्रालयले यस योजनालाई समयमै सम्पन्न गर्न र कृषकहरूलाई सिँचाइमा सहजता प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।