बझाङ: जंगलमा स्याउला काट्न गएकी एक महिलालाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएकी छन् । भालुको आक्रमणबाट खप्तडछान्ना गाउँपालिका-४ की २८ वर्षीया अंकिरा रोकाया गम्भीर घाइते भएकी हुन् । खप्तडछान्नाकै वडा नं ५ मा पर्ने बेडुभुवाँ जंगलमा अंकिरालाई बुधबार बिहान भालुले आक्रमण गरेको थियो । उनको शरीरका विभिन्न भागमा ठूल्ठुला घाउ लागेको घाइतेका भतिजा सुभास रोकायाले जानकारी दिए ।
उनलाई आक्रमण भएको थाहा पाएपछि सँगै स्याउला काट्न गएका महिला र साथमा रहेका कुकुरको सहयोगमा उद्धार गरिएको रोकायाले बताए । ‘अरु मान्छे र कुकुरसँगै नभएको भए ज्यूँदै भेटाउन मुस्किल हुने थियो, उनले भने, ‘सँगै भएका मान्छेले हल्ला गरेको र कुकुरले आक्रमण गरेपछि घाइते अवस्थामा छोडेर गएको रहेछ ।ु घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।
२० दिनअघि उक्त क्षेत्रमा तीन वटा भालुसँगै देखिएको र भालुले आक्रमण गर्न थालेपछि घाँस, दाउरा गर्नको लागि जंगल जान स्थानीयहरु डराइरहेको स्थानीयले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका जंगलबाट भालु बस्ती नजिकका जंगलमा आएको हुन सक्ने स्थानीयको अनुमान छ ।