बझाङ : छविस पाथीभेरा गाउँपालिका–१ का बालु गिरीले थापेको पासोमा सोमबार एकैपटक नौवटा माछा परे । सबै माछाको तौल साढे सात किलो बराबर थियो । तीमध्ये दुईवटा माछा त दुईरदुई किलोका देखेर उनी आफैं छक्क परे । विगत १५ वर्षदेखि जयपृथ्वी नगरपालिका–७, तमैल बजारमा बस्दै आएका उनले १० वर्षयता दुई किलोका माछा देखेका थिएनन् । खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको तमैलमा चिया पसल चलाउँदै आएका उनको आम्दानीको अर्को स्रोत सेती नदीमा माछा मार्नु हो । ‘धेरै वर्षपछि ठूलो माछा परेको हो,’ उनले खुसी हुँदै भने, ‘एक किलोको माछा पाउन पनि मुस्किल हुन्थ्यो । यो वर्ष ठूलठूला माछा भेटिन थालेका छन् ।’ उनले १० वर्षअघि आफूले तमैल नजिकको सेती नदीमा साढे दुई किलोको माछा भेटेको बताए । ‘त्यसयता त्यति ठूलो माछा देखेको छैन,’ उनले भने, ‘यो वर्ष मैले मात्रै होइन, सबैले बढी माछा मारिरहेका छन् । माछा पनि ठूलठूला छन् ।’
विगत केही वर्षको तुलनामा यस वर्ष सेती नदी र यसका सहायक खोलाहरूमा बढी माछा पाइन थालेको बालुजस्तै नियमित माछा मार्नेहरूले बताएका छन् । माछा बढी पाइन थालेपछि यसैबाट जीविका चलाइरहेकाहरूको आम्दानीमा पनि वृद्धि भएको उनीहरूले बताएका हुन् । स्वादका हिसाबले देशैभर प्रख्यात सेतीको असला माछाको संख्या प्रतिवर्ष घट्दै जान थालेको प्रति चिन्तित यहाँका स्थानीय यो वर्ष बढी माछा पाइन थालेकामा खुसी छन् । ‘अघिल्लो वर्षसम्म एक जनाले दुईरतीन दिनमा दुईरतीन किलो माछा मार्न पनि मुस्किल हुन्थ्यो,’ जयपृथ्वी नगरपालिका–३ का गजेन्द्र रोकायाले भने, ‘यस वर्ष सातरआठ कक्षामा पढ्ने बच्चाहरूले पनि एकै दिनमा पाँचरसात किलो माछा मारिरहेका छन् । माछा बढेरै बढी पर्न थालेका हुन् ।’
स्वादका हिसाबले सेतीका असला माछा प्रख्यात छन् । प्रतिवर्ष संख्या घट्दै जान थालेको प्रति चिन्तित यहाँका स्थानीय यस वर्ष बढी माछा पाइन थालेकामा खुसी छन् । सेती नदी किनारका पालिकाहरूले माछाले फुल पार्ने तथा प्रजनन गर्ने समयमा मार्न प्रतिबन्ध लगाएपछि माछाको संख्यामा वृद्धि भएको स्थानीयको अनुमान छ । बझाङका स्थानीय तहले सेती नदी र यसका सहायक खोलाहरूमा चार महिना माछा मार्न प्रतिबन्ध लगाएका थिए । माछाले फुल पार्ने तथा प्रजनन क्रिया गर्ने भदौ, असोज र फागुन तथा चैत महिनामा माछा मार्न सेती नदी क्षेत्रमा पर्ने पालिकाहरूले गत भदौदेखि प्रतिबन्ध लगाएका हुन् । सेती नदी क्षेत्रमा पर्ने तलकोट, थलारा, केदारस्युँ, छविसपाथीभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाले यी महिनामा कुनै पनि तरिका या साधन प्रयोग गरेर माछा नमार्न सूचना जारी गरेका हुन् ।
पालिकाहरूले पछिल्लो समय माछा मार्नलाई करेन्ट लगाउने, जैविक तथा रासायनिक विषादी प्रयोग गर्ने, मसिना प्वाल भएका जालको प्रयोग र नदीको धार फर्काएर माछा मार्ने जस्ता विनाशकारी क्रियाकलाप अत्यधिक बढेकाले माछाको संख्या चिन्ताजनक रूपमा घटिरहेको बताउँदै जलीय जैविक विविधताको स्वास्थ्य सूचकका रुपमा रहेको माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गर्न माछा मार्न बन्द गरिएको बताएका थिए । यो अवधिमा तीप थाप्ने र अन्य साधन प्रयोग गरी माछा मार्नेहरूलाई पालिकाले कारबाहीसमेत गरेका थिए । नदी किनारका स्थानीयलाई समेत संगठित गरी जलचर तथा जैविक विविधता संरक्षण समूह बनाएर पालिकाले उक्त प्रतिबन्ध कार्यान्वयन गरे पनि सबैभन्दा बढी माछा मारिने महिनामा प्रतिबन्ध लगाएको भन्दै स्थानीय तहको निर्णयको केहीले विरोधसमेत गरेका थिए ।
‘सुरुमा धेरैले विरोध गरे पनि अहिले सबैले कुरा बुझेका छन् । माछा मार्न प्रतिबन्ध लगाएकामा नियमित माछा मार्नेहरूले नै विरोध गरिरहेका थिए । अहिले उनीहरूले नै धेरै माछा मार्न पाएका छन्,’ थलारा गाउँपालिका–१ को मालुमेला शिवालय सामुदायिक जलचर संरक्षण समूहकी अध्यक्ष रेखा खड्काले भनिन्, ‘एकै जनाले दिनमै चार–पाँच हजारसम्म कमाउन पाएका छन् ।’
सेती नदीमा माछासम्बन्धी भएका विभिन्न अध्ययनले माछाको संख्या ६० प्रतिशत घटेको देखाएको थियो । यूसएआईडीको पानी परियोजनाका मस्त्यविद्हरूले तीन वर्ष लगाएर गरिएको अध्ययनपछि सन् २०१८ मा प्रकाशित गरेको पश्चिम सेती जलाधारको स्वास्थ्य प्रतिवेदनले अव्यवस्थित रुपमा सडक लगायतका पूर्वाधार निर्माण, नदी क्षेत्रमा फोहोरमैलाको विर्सजन तथा विनाशकारी साधनको प्रयोगले माछा मार्दा माछाको आकार, तौल र संख्या घटेको उल्लेख गरिएको छ । केही वर्ष पहिलासम्म प्रशस्त मात्रामा पाइने माछाका धेरै प्रजाति पछिल्लो समय लोप हुँदै गएको लामो समयदेखि माछा मार्दै आएका व्यक्तिहरूले बताउँदै आएका छन् । सेती र यसका सहायक नदीमा पाइने गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (शहर) राडी, च्याउँटे, थाले, चिम्टी लगायत माछाहरू पनि केही वर्षयता हराउन थालेको मछुवारहरूको अनुभव छ ।
सेती नदीमा पाइने तौलका हिसाबले पनि ठूलो मानिएको सट्टो माछा केही वर्षयता लोप नै भैसकेको जयपृथ्वी नगरपालिकाका धनराज कामीले बताए । ‘यस वर्ष पहिलाभन्दा ठूला माछा पाइन थालेका छन् । नियमले मार्यो भने पहिलाजस्तै माछा पाइने अवस्था हुन सक्छ– सट्टो माछा खाँदा गर्मी र लामखुट्टेको टोकाइबाट हुने रोगहरू मलेरिया, औलो रोग पनि निको हुने गरेको उनले सुनाए । सानो आँखा भएका जालको प्रयोग, करेन्ट लगाउने, विस्फोटक पदार्थको प्रयोग गर्ने गरेका कारण साना माछाहरू पनि मर्ने भएकाले माछाको संख्या घट्दै गएको हो । खिरोगडेरो लगायत जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्कोतिर फर्काउने गरेर दुवाली थुन्ने गरेका कारण जलचरहरूको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले माछामाथिका चुनौती घटाउनका लागि स्थानीय सरकारले नीति नै बनाएर काम गरिरहेको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले बताए ।
‘सेती नदीको पानीको गुणस्तर र माछाको अवस्था पहिलाको जस्तै बनाउन अरु पालिकाहरूसँग पनि समन्वय र सहकार्य गर्ने संयन्त्र बनाएर काम गरिरहेका छौं,’ उनले भने, ‘सबैले सहकार्य गरेर काम गर्दा सकारात्मक परिणाम आउने संकेतहरू देखिँदैछन । हामी यो अभियानलाई अझै सक्रिय बनाउन लागिरहेका छौं ।’ सेती नदी क्षेत्रका सातवटा पालिका जलीय जैविक विविधता संरक्षणका लागि समन्वय गर्ने पश्चिम सेती जलाधार समन्वय परिषद् समेत गठन गरेर सहकार्यको काम भइरहेको उनले बताए ।कान्तिपुरबाट