धनगढी । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्व गलत र भ्रमपूर्ण नारा लगाइएकोप्रती पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा धनगढी विमानस्थल र अछामको साफेबगरको छिपेखोला बजार लगायतका ठाउँमा कार्यक्रम आयोजना गरि प्रधानमन्त्रीविरूद्व गलत र भ्रामक नारा लगाइएकोप्रती ध्यानाकर्षण भएको बताएको हो ।
“मातृभूमि जागरण अभियान नामको समुहले कैलालीको धनगढी एयरपोर्ट र अछामको साँफेबगर नगरपालिकाको छिपेखोला बजार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने नाममा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध लगाइएका गलत र भ्रामक नारा र गरिएका अभिव्यक्तिका विषयहरु सञ्चार माध्यम मार्फत जानकारी भएकोले सुदूरपश्चिम प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,” प्रदेश सचिव रणबहादुर चन्दले जारी गरको विज्ञप्तिमा भनिएको छ, “त्यसरी नै हामो पार्टीमा प्रतिवद्ध कार्यकर्ताहरुको नाम अभियानमा सघाएको भन्दै कपोकल्पित तथा भ्रामक प्रचार गरि राजनीतिक बेइमानी गर्ने जस्ता अराजक, उछृंखल क्रियाकलाप र असभ्य अभिव्यक्तिले लोकतान्त्रिक सभ्य संस्कृतिलाई निष्तेज गर्ने र नागरिक समाज लगायत दलका कार्यकर्ताहरुलाई झन् अराकता तिर लगेर प्रतिक्रियावादीहरुलाई सघाउने गर्दछ ।”
एमालेले ती सबै कार्यको घोर निन्दा र भर्त्सना गर्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन समेत चेतावनी दिएको छ । साथै अराजक गतिविधिबाट भ्रममा नपर्न र घट्न सक्ने घटनाबारे समयमै सतर्कता अपनाउन सम्पूर्ण पार्टी पंक्ति र सम्वन्ध सबैलाई अपिल गरिएको चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमालेबाट कारवाही गर्दै निकालिएको भीम रावलले मातृभूमि जागरण अभियान चलाएका छन् ।
अभियान अन्तरगत रावल गृह जिल्ला अछाममा विभिन्न कार्यक्रम चलाइरहेका छन् । सो क्रममा उनी समर्थकले एमाले अध्यक्ष ओलीविरूद्व नाराबाजी गरिरहेका छन् भने सोमबार रावलको अभियानलाई सघाएको भन्दै ५९ जनाले विज्ञप्ति निकालेको भनेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियोे । तर विज्ञप्तिमा नाम उल्लेख गरेका नेताहरूले नै त्यसमा आधिकारिकतामा नभएको भन्दै खण्डन गरिरहेका छन् ।