धनगढी: कैलाली उद्योग बाणिज्य सघंले कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई स्वागत गरेको छ । सघंको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पुस्पराज कुँवर लगायत पदाधिकारीले प्रमुख जिल्ला अधिकारी हमाललाई खादा, माला सहित स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हमालले देशको अर्थतन्त्रमा उद्योगको ठूलो भूमिका रहेको बताएका छन् ।
उनले भने ‘पछिल्लो समय उद्योगहरु जुन गतिमा अगाडि बढ्नुपर्ने हो । त्यो गतिमा बढ्न सकेका छैनन् । सरकारले उद्योग क्षेत्रलाई अगाडि बढाउने नीति अवलम्बन गरेको छ ।’ उनले उद्योगका क्षेत्रमा आफूहरु संवेदनशील भएको उनले बताए । उनले भने ‘हामीले शान्ति सुरक्षा,अमनचयन कायमसँगै व्यापार व्यवसायलाई पनि प्रवद्र्धन गर्नुपर्ने छ । यी सबै कुरालाई मध्यनजर गरेर काम गर्छौ ।’
उनले यहाँको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने सन्दर्भमा पनि छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघले प्रजिअ हमाललाई रात्रिकालिन व्यवसायको समय बढाउन सहजिकरण गरिदिनुपर्ने लगायतका माग राखेका थिए । संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव ओमबहादुर बिष्टले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए ।