धनगढी । शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ । आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए ,।
हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
समितिले धारा जडानका लागि रु दुई हजार शुःल्क लिने गरेको छ । पानीमो महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट रु एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए ।
विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हँदै आएको उनले उलेश गरे । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए ।
वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुर्याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ । आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो । रासस