धनगढी: कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका ३५ बङ्गुर मरेका छन् । घोडाघोडी नगरपालिका –९ का कृषक प्रशु चौधरीले पालेका बङ्गुर अफ्रिकन स्वाइन फिभर लागेर मरेका हुन । कृषक चौधरीको फर्ममा रहेका बङ्गुर पुस १४ देखि १९ गतेसम्म मरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ । मरेको बङ्गुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको प्रयोशालाका प्रमुख डा। नरेशप्रसाद जोशीले बताए ।
उनले थारु समुदायको माघ पर्व आइरहेको बेला बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिनु चिन्ताको विषय भएको बताए । चाडपर्वमा बङ्गुर मारेर खाने चलन रहेकाले रोग फैलिन नदिन बढी सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । कैलालीसहित सुदूरपश्चिमका चार जिल्लामा दुई वर्षअघि अफ्रिकन स्वाइन फिभर फैलिँदा ४१५ बङ्गुर मरेका थिए । बङ्गुरबाट सो रोग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा सरेको थियो । निकुञ्जमा मरेको बँदेलको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।