दार्चुला: मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति ११ बजेतिर शंकरपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मालिकार्जुन गाउँपालिका–४ देवधुरामा स्थानीय ४० वर्षीय भुवनसिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
उनीहरुबाट प्रहरीले नगद एक लाख १३ हजार ७ सय ७५ रुपैया र २ गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए । उनका अनुसार प्रकाउ पर्नेमा पसल सञ्चालक धामीसंगै मालिकार्जुन गाउपालिका–४ का ५२ वर्षीय इन्द्रसिंह धामी, ४० वर्षीय भवानसिंह धामी, ३१ वर्षीय मिनसिंह धामी, ४० वर्षीय गगनसिंह धामी र ३५ वर्षीय किसनसिंह धामी रहेका छन् । त्यस्तै, मालिकार्जुन गाउपालिका–३ का ६० वर्षीय उत्तरसिंह धामी, सोही वडाका ५६ वर्षीय मानसिंह धामी र मालिकार्जुन–८ का ५१ वर्षीय गम्भीरसिंह धामी रहेको सूचना अधिकारी जोशीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।