काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत साता बसेको स्थायी कमिटी बैठकले पार्टीसँग संवादमा रहेका नेताहरुलाई भित्र्याउने औपचारिक निर्णय गर्यो । त्यसका लागि अध्यक्ष माधव नेपाल आफैं खटिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग संवाद गरे । केही दिनभित्रै नेकपा एसमा प्रवेश गर्न वामदेव तयार भसकेका छन् । त्यहीअनुसारको तयारी दुवै पक्षले थालिसकेका छन् । नेता गौमत नेकपा एसमा जाने निर्णय भएपछि एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन ।
एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेमा निष्क्रिय जस्तै छन् । पार्टीको साधारण सदस्यबाहेक अन्य कतै अटाएका छैनन् । एमालेले धलेकेर डिलमा पुर्याइसकेका रावल अझै पार्टी नछाड्ने अड्डी कसेर बसेका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा जाने चर्चाबारे हामीले नेता रावललाई सोध्यौं, तर उनले आफू अहिले एमाले छाडेर कतै जाने मनस्थितिमा नरहेको सुनाए । वामदेव गौतम एकीकृत समाजवादीमा जाने भएपछि तपाईंको पनि चर्चा छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ।’
उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे । अहिले एकीकृत समाजवादीका नेताहरुसँग संवादमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले थपे, ‘छैन, उहाँहरुले महाधिवेशन गर्नुअघि र महाधिवेशनपछि पनि लगत्तै मसँग कुरा गर्नुभएको थियो, तर अहिले छैन ।’ नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा कुराकानी भएको बताए ।
उनले थपे, ‘उहाँहरुले पार्टीमा आउनुपर्यो भनेर पनि कुराकानी गर्नुभएको हो, तर त्यसपछि कुनै कुरा भएको पनि छैन । मेरो अहिले एमाले छाडेर जाने सोचविचार छैन ।’