बैतडी: दशरथ चन्द नगरपालिकाले १०८ वर्षीय महिलालाई घरमै पुगेर न्यानो सामग्री दिएर सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई न्यानो सामग्री वितरण गर्ने क्रममा भेटिएकी १०८ वर्षीय बिर्मादेवी बडूलाई नगर उपप्रमुखले घरमै पुगेर सम्मान गरेकि हुन् । दशरथ चन्द नगरपालिका–७, सुर्कालगाउँकी बिर्मादेवी बडूको जन्ममिति विसं १९७३ मङ्सिर १२ गते भएको उल्लेख छ । उनि हिँडडुल गर्न नसक्ने भएकाले घरमै पुगेर न्यानो सामग्री प्रदान गरेको उपप्रमुख कौशिला चन्दले बताइन् । उपप्रमुख दैलोमा पुग्दा बिर्मादेवी बडू एउटा पातलो ब्लाउज लगाएर आगो ताप्दै कसिरहेकि थिइन् । बडूलाई दोसल्ला ओढाएर न्यानो सिरक, तातोपानी खान थर्मस प्रदान गरिएको उनले बताइन् ।
सोमबार दशरथ चन्द नगरपालिका–७, सुर्कालगाउँका विभिन्न टोलमा पुगेर नौ जना ज्येष्ठ नागरिकलाई न्यानो सिरक, तातोपानी राख्न थर्मससहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । नगरपालिकाका ११ वटै वडामा ११० जना ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मानस्वरूप न्यानो सामग्री वितरण भइरहेको उपप्रमुख कौशिला चन्दले जानकारी दिइन् ।