डडेलधुरा: परशुराम नगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने योजना ल्याएको छ । विगतमा स्वास्थ्य बिमामार्फत हुने उपचारले आर्थिक रूपमा केही सहज बनाए पनि उक्त प्रक्रियामा जाँदा ज्येष्ठ नागरिकलाई झन्झटिलो हुने गरेको थियो । परशुराम नगरपालिकाको मुकाम वडा नम्बर १२ को लालढुङ्गा बजारमा रहेको जोगबुडा अस्पतालबाट अब ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए । परशुराम नगरपालिका–३, शीर्षकमा नगरपालिकाले आयोजना गरेको मेयर केयर स्वास्थ्य विशेषज्ञ शिविर कार्यक्रममा नगरप्रमुख जोशीले ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने गरेर योजना अघि बढाएको बताए ।
मेयर केयर योजना अनुसार परशुराम नगरपालिकाले प्रत्येक वडा कार्यालयमा एमबिबिएस चिकित्सकको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी नगर सरकारको हो । नगरप्रमुख जोशीले भने, “सोही अनुरूप हरेक महिनाको पहिलो सोमबार जोगबुढा अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको टोली आउने र नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।”
यससँगै परशुराम नगरपालिकाले प्रत्येक विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षणसमेत गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा विद्यार्थी स्वास्थ्य प्रोफाइल राखिएको छ । सोही कार्यक्रम अनुरूप यहाँका सबै विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेर अद्यावधिक गर्न लागिपरेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए ।