कैलाली: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्ने बताएका थिए ।दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएको भन्दै अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्न आवश्यक उनले बताए । ‘छुवाछुत र विभेद अन्त्य नहुँदासम्म मुलुकको विकास हुन सक्दैन ’ प्रदेश प्रमुखले भने ‘छुवाछुत र विभेद अन्त्य गरेर प्रदेश र देशको विकास गर्नु तपाइ हाम्रो जिम्मेवारी हो ।’
प्रदेश प्रमुख मियाँले आफू संविधानको रक्षा गर्ने जिम्मेवारीमा रहेको र संविधानमा पनि छुवाछुत मुक्त समाजको परिकल्पना गरेको हुँदा छुवाछुत र विभेद अन्त्य गर्न पनि आफ्नो भूमिका हुने स्पष्ट वारेका थिए । उनले जात वा धर्मका नाममा गरिने विभेद कानुनी रुपमा पनि दण्डनीय रहेको बताए । प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य भने हुन नसेकेको बताए । उनले समाजलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिएका थिए । छुवाछुत दण्डनीय रहेको भन्दै त्यस्तालाई कारबाही हुने समेत उनले बताए।
सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार स्थापित गर्ने गरि कानुन निर्माणको तयारी भइरहेको बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले विभेद र छुवाछुत अन्त्यका लागि सबै लाग्नु पर्ने बताएका थिए । त्यस्तै अम्बिका ताम्राकार, साबित्रा घिमिरे, प्रेम विक, देवी खनाल, खडकराज जोशी, राजु तिरुवा सविता सुनार, कृष्ण प्रसाद जैशी, ओमप्रकाश पुन लगायतले विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।