धनगढी: सुदुरपश्चिममा रिक्त रहेका र रिक्त हुनै लागेका राजनितिक नियुक्तीका लागी नेपाली काग्रेंस र नेकपा एमाले बिच छलफल भएको छ । राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा चाँडै टुङ्ग्याउने सुदूरपश्चिम स्तरीय राजनीतिक संयन्त्रले निर्णय गरेको छ । आज धनगढीमा बसेको संयन्त्रको बैठकले सो निर्णय गरेको हो । यसैगरी, बैठकले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधि यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ ।
त्यस्तै, बाजुराको भूकम्प प्रभावितलाई विपद् व्यवस्थापन समितिमार्फत राहतसहित पुनःस्थापना गर्ने निर्णय बैठकले गरेको छ । संयन्त्रका संयोजक एवम् एमालेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकमा संयन्त्र सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर, नेकपा (एमाले) का प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको उपस्थिति थियो ।
यसैगरी, संयन्त्रको सदस्य एवम् मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा (एमाले) का संसदीय दलका नेता एवम् संयन्त्र सदस्य राजेन्द्रसिंह रावलको उपस्थिति थियो ।