धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो दशकमा पार्टी बरालिएको हो कि भन्ने महशुस भइरहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको शनिबार धनगढीमा उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । पार्टीभित्रका कतिपय तिक्तता स्वाभाविक भए पनि देश र जनताका हितमा एक ढिक्का हुनै पर्ने उनको भनाइ छ । त्यसो हुन नसके लोकतन्त्र कमजोर हुँदै अधिनायकवाद आउन सक्ने भन्दै दलभित्र पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै आफू पार्टीको केन्द्रीय नेतृत्वमा पुगेपछि सबैलाई समान र उचित अवसर रहने बताए ।
अधिकांश जिल्लाका नेता र कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेको भन्दै उनले सवै लाई मिलार लैजाने बताए ।
सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा कोइरालाले आफ्नो पक्षका नेता कार्यकर्ता लाई भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ।
उनले गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको पालना गर्नुपर्ने बताए । सहकारीपीडकहरूलाई पक्राउ गर्नुका साथै सहकारीपीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारको ध्यानकर्षण गराए । देशको अर्थ राजनीति, छिमेकी मुलुकहरूसँगको लेनदेनको अर्थ व्यवस्था र दातृनिकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेको तर्फ सचेत रहन उनले सरकारलाई आग्रह गरे । कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन् । सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौवटै जिल्लाका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए। कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुला पुगेर सकिएको थियो।