धनगढी । नगर प्रहरीले दुई वर्षको अवधिमा डेढ हजारभन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ५५४ सर्पको उद्धार गरेको हो ।
२०८० मा सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले सो काम थालेको थियो । तालिम प्राप्त नगर प्रहरीले धनगढी उपमहानगरपालिकासहित विभिन्न छिमेकी पालिका पुगेर सर्प उद्धार गर्ने काम गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा ८३४ र चालु आर्थिक वर्षको हालसम्म ७२० गरी नगर प्रहरीले उद्धार गरेको सर्पको सङ्ख्या एक हजार ५५४ पुगे धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । नगर प्रहरीले अजिङ्गर पाँच वटा, करेत ३२, कमन करेत २८, लक्ष्मी नाग ५१ वटा उद्धार गरिएको छ । यसैगरी, कालो गोमन १४५, गोमन तीन, राज गोमन ९किङ कोब्रा० पाँच, कमन कोब्रा १११, भाइपर पिट छ वटा उद्धार गरिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी २२९, भदौमा १७६, असोजमा १४८, कात्तिकमा १३१ र मंसिरमा ३६ वटा सर्पको उद्धार गरेको जनाइएको छ । चिसो बढेपछि सर्प सक्रिय नभइ सुसुप्त हुने हाइबर्नेसनमा जाने गर्दछन् । यद्यपि, मङ्सिर महिनामा पनि यत्रतत्र घरहरुमा सर्प फेला परेको धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीले बताए ।
नगर प्रहरीले उद्धार गरेर ल्याएको सर्पलाई सुरक्षित स्थानमा छोड्ने गरेको छ । यसअघि, सर्प उद्धारकर्ता नहुँदा घरभित्र देखिएका धेरैजसो सर्पलाई मार्ने गरिएको थियो । अचेल घर वा घर आसपासमा सर्प देखिएपछि मान्छेले उद्धारका लागि नगर प्रहरीलाई बोलाउने गरेको जनाइएको छ । नगर प्रहरीले सर्प उद्धारको काम थालेपछि धेरैको ज्यान जोगिएको छ ।