धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोएल्सले छैटौं जित निकाल्यो । सोमबार भएको अन्तिम लिग खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष २ मै रहनेगरी प्लेअफ खेल्ने पक्का भयो । आइतबारको खेलमा प्लेअफको होडबाट बाहिरिसकेको पोखरा एभेन्जर्सलाई ५ रनले हराएको सुदूरले सोमबार पनि ब्याटिङ र बलिङ दुवैमा राम्रो खेल्दै विजयी भयो ।
आइतबारको रोमाञ्चक जितले सुदूरको प्लेअफ पक्का गराइसकेको थियो । प्रतियोगिताभर फर्ममा नदेखिएको पोखराको टप अर्डरबाट राम्रो प्रदर्शन हुन नसकेकामा मिडल अर्डरका रेमन रेइफर र किरण ठगुन्नाले खेललाई तानेर अन्तिम ओभरसम्म पुर्याएपनि अन्तिम ओभरमा स्कट कुग्लेइनले राम्रो बलिङ गर्दै खेल जिताएका थिए । त्यसअघि हर्मीत सिंहले पनि राम्रो बलिङ गर्दै पोखरालाई दबाबमा राखेका थिए ।
सुदूरले सुरूवाती तीन खेलमा लगातार तीन जित निकाल्दा चौथोमा पराजित भएको थियो भने त्यसपछि फेरि लगातार तीन खेल जितेको छ । सुदूरले हालसम्म आफ्नो लयमा त्यस्तो धेरै हलचल हुन दिएकै छैन ।
आफ्नो चौथो खेलमा चितवनसँग पराजित हुनुबाहेक सुदूरले कुनै पनि गल्ती गरेको देखिएको छैन । लिग चरणका ७ मध्ये ६ खेलमा जित निकालेको सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष राम्रो देखिएको छ । सुदुरको ओपनिङमा विनोद भण्डरी र सेफ अली जैब राम्रो देखिएका छन् । दुवै मिलेर मध्यम सुरूवात दिलाएका छन् ।
विनोदले हालसम्म ७ खेलमा १३६ रन बनाएका छन् भने जैबले १७४ रन बनाउँदा ९ विकेट पनि लिएका छन् । विनोदको किपिङमा पनि राम्रो प्रेजेन्स अफ माइन्ड देखिएको छ । उनले केही महत्वपूर्ण रनआउट र स्टम्पिङ पनि गरेका छन् ।
त्यसैगरी ब्राण्डन माकमुलेनले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिइरहेका छन् । उनले हालसम्म एक अर्धशतकसहित ७ खेलमा १६२ रन बनाएका छन् भने ६ विकेट पनि लिएका छन् ।
यता हर्मीत सिंहको आगमनले टिममा बाँयाहाते बलिङ र पिन्च हिटिङमा सहयोग पुगेको छ । हर्मीतले ३ खेल मात्र खेल्दा ८ विकेट लिइसकेका छन् । उनी राम्रो लयमा पनि देखिएका छन् ।
कप्तान दिपेन्द्रसिंह ऐरी आफैं पनि टिमका लागि महत्वपूर्ण साबित भइरहेका छन् भने न्युजिल्याण्डका बलर स्कट कुग्लेइनले पनि टिमको जितमा महत्वपूर्ण योगदान दिएका छन् । उनले ७ खेलमा १५ विकेट लिइसकेका छन् । दिपेन्द्रले ७ खेलमा एक अर्धशतकसहित १९८ रन बनाएका छन् भने ५ विकेट पनि लिएका छन् ।
इशान पाण्डेले पनि ब्याटिङ ठिकठाक गरिरहेका छन् भने टिमलाई आवश्यक परेको अवस्थामा मिडल ओभरमा गेम चलाउनेदेखि केही विकेट पनि लिएका छन् । आरिफ शेखले पनि मिडल अर्डरमा राम्रो खेलिरहेका छन् । त्यस्तै अविनाश बोहराको पेस बलिङ र नरेन साउदको स्पीन बलिङ पनि टिमका लागि महत्वपूर्ण देखिएको छ ।
क्यानडामा खेल्ने गरेका पूर्वराष्ट्रिय खेलाडी नरेश बुढाएरले फिल्डिङमा राम्रो योगदान दिएका छन् । उनले हरेकजसो खेलमा महत्वपूर्ण क्याचहरू लिइरहेका छन् । ब्याटिङमा पनि केही ठुला शटहरू खेल्दै आवश्यक रनहरू जोडिरहेका छन् ।
प्लेअफ सुरू हुनुभन्दा अगाडि सबैभन्दा राम्रो लयमा सुदूरपश्चिम नै देखिएको छ । सुरूवाती तीन खेलमा पहिले ब्याटिङ गरेर जित्ने क्रममा सुदूरले राम्रो ब्याटिङपछि राम्रो बलिङ समेत गरेको थियो । त्यसपछि पराजित भएको सुदूरले बाँकी तीनमध्ये तीनवटै खेल जित्दै ६ जित निकाल्ने एकमात्र टोली बन्यो ।
दर्शकहरूमाझ पनि सुदूरपश्चिमकै चर्चा बढी हुँदा उपाधि जित्ने दाबेदार टोलीकै रूपमा हेरिएको छ । एनपीएलकै टिम काठमाण्डु गुर्खाजका कप्तान करण केसीले पनि सुदूरपश्चिम अरूभन्दा केही बलियो देखिएको बताएका थिए ।
यसबारेमा दिपेन्द्रसिंह ऐरीसँग कुरा गर्दा टिम राम्रो भएको र उपाधि जित्ने माइन्डसेटले नै सुरूवातदेखि खेलिरहेको प्रतिक्रिया दिएका थिए । ‘सबैजना त्यहीअनुसार तयारी गरिरहेका छन्, हाम्रो टिम पनि बलियो छ सबैकुरामा सन्तुलन पनि मिलेको छ । सुरूदेखि भन्दै आएका छौं उपाधि जित्छौं भनेर, हेरौं के हुन्छ अब, राम्रो हुन्छ भन्ने नै छ।’
लिग चरणकै अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्ससँग खेलेको थियो । कर्णालीविरुद्ध पहिले टस जितेर बलिङ रोजेपछि सस्तैमा कर्णालीलाई रोकेको सुदूरले लगभग ५ ओभरअगावै ४ विकेटको जित निकाल्यो ।
सुदूरको जितमा कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । उनले बलिङबाट २ विकेट लिएका थिए भने ब्याटिङमा सुदूरको सुरूवाती विकेट छिटै गएपछि ३८ रनको महत्वपूर्ण पारी खेले । उनी नै म्यान अफ दि म्याच समेत भए ।
बलिङमा दिपेन्द्रले विलियम बोसिस्टो र जीशान मकसुदको महत्वपूर्ण विकेट लिएका थिए भने ब्याटिङमा ४ चौका र १ छक्का मद्दतले ३८ रन बनाए । उनलाई इशान पाण्डेले पनि अविजित रहेर साथ दिए ।
बलिङमा स्कट कुग्लेइनले आज पनि २ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । हर्मीत सिंहले ३ विकेट लिँदा सेफ अली जैबले पनि एक विकेट हात पारे ।
सुदूरले अब पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग बुधबार दिउँसो खेल्ने छ । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गरेको थियो । पहिलो क्वालिफायरमा खेल्ने टोली पराजित भएपनि अर्को मौका पाउने छ ।
सुदूरलाई दर्शकको भरपुर साथ
मैदानमा राम्रो प्रदर्शन गरिरहेको सुदूरपश्चिमको फ्यान बेस पनि निकै राम्रो रहेको देखिएको छ । सुदूरको खेल भएको दिनमा बिदा नभएपनि खेल हेर्न आउने दर्शकको ठुलो संख्यामा उपस्थिति हुने गर्छ ।
एक हिसाबले सबैभन्दा धेरै फ्यान नै सुदूरपश्चिमका छन् भन्न सकिन्छ । यसबारेमा कप्तान दिपेन्द्रसँग कुरा गर्दा यो फ्यानबेस हुनु समग्र नेपाली क्रिकेटकै लागि राम्रो कुरा भएको बताए ।
एनपीएल नेपालको सबैभन्दा ठुलो लिग भइसक्यो, सबैले राम्रो पनि गरिरहेको छ, क्यानलाई पनि धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘फ्यानहरूले पनि हाम्रो टिमलाई मात्र नभएर नेपाली क्रिकेटलाई नै समर्थन गरिरहनुभएको छ।’
उनले सुदूरपश्चिमका फ्यानहरूलाई पनि धन्यवाद दिएका छन् । ‘फ्यानहरू अरू खेलमा भन्दा हाम्रो खेल हुँदा धेरै नै देखेको छु, सबैजनालाई धन्यवाद दिन्छु, हाम्रो मनोबल पनि बढेको छ, आगामी खेलमा पनि आउनुहोला’ उनले भनेका छन् । अनलाइन खबर