धनगढी: नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको मार्मा गाउँपालिकामा १२ करोड ७८ लाख रुपियाँ खर्च गरेर ३३ केभी विद्युत्को सवस्टेशन निर्माण गरेपछि टमटासहित यहाँका दुई पालिकाका २५ हजार बासिन्दा विद्युत्को पहुँचमा जोडिएका छन् ।
मार्मा गाउँपालिका–२, पारिबगर–लटैनाथ सवस्टेशन निर्माणको काम सम्पन्न भएपछि आईतबार प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्नहुँदै गाउँपालिका अध्यक्ष धामीले सवस्टेशनबाट मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका–१,का २५ हजार बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए ।