धनगढी: कैलालीको मोहन्याल गाउँपालिकामा आइतबार शोक बिदा दिइएको छ । शुक्रवार मोहन्याल गाउँपालिका – ३ का वडा अध्यक्ष नन्दाराम गिरीको निधन भएको शोकमा आइतबार गाउँपालिका भरी बिदा दिइएको हो । शनिवार गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायद्धारा जारी शोक वक्तव्यमा आइतबार एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, बैङ्किङ, शिक्षण संस्था र स्वास्थ्य संस्थाहरूमा अति आवश्यक बाहेक शोक बिदा दिने उल्लेख छ । साथै ३ दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउन पनि आग्रह भनिएको छ ।
शोक वक्तव्यमा गाउँपालिकाले एक कर्मठ, जुझारु, इमानदार र कुशल नेतृत्व गुमाएको उल्लेख छ । डेढ वर्षदेखि क्यान्सर पीडित वडाध्यक्ष गिरीको शुक्रवार दोदधारा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।