धनगढी: अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली मूलकी ममता काफ्लेको हत्या उनकै श्रीमान नरेश भट्टले नै गरेको पाइएको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या उनकै श्रीमानले गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनीविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको अभियोग दर्ता मुद्दा दर्ता गर्न लागेको हो । मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समय अनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनको समाचारमा उल्लेख छ ।
यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएका थिए । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।