काठमाडौँ । स्थानीय तह उपनिर्वाचन २०८१ मा सत्तारुढ दल नेकपा एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष बोनस पाएको छ । २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्दै ८१ को उपनिर्वाचनमा एमालेले बोनसका रूपमा हात पारेको हो ।
महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित हुँदा सत्तासाझेदार दल नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६७५ मतसहित निकटतम प्रतिस्पर्धी बने । त्यस्तै माओवादीका जंगबहादुर बराल ८४२ मत सहित तेस्रो स्थानमा खुम्चेका छन् । यसअघि महाबु गाउँपालिकामा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मतसहित विजयी बन्दा एमालेका हरि प्रसाद उपाध्याय २ हजार ५१९ मतसहित उपविजेता बनेका थिए । त्यस्तै एकीकृत समाजवादीका जंगबहादुर शाही २ हजार २६८ मतसहित तेस्रो भएका थिए । अहिले उनै जंगबहादुर एमाले फर्किएर जित निकालेका हुन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद पनि उपनिर्वाचनमार्फत एमालेले बोनस बनाएको छ । यसअघिको निर्वाचनमा कांग्रेसकी मैना जोशी १ हजार ८१० मतसहित निर्वाचित भएको सो पद उपनिर्वाचनमार्फत एमालेले खोसेको छ । उपनिर्वाचनमा यो पालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारीले १ हजार ६३७ मतसहित निर्वाचित बनेकी छन् । यहाँ अहिले कांग्रेसकी पुल्तीसरा शाही १४ सय ७४ मतसहित उपविजेता बनेकी छन् । त्यस्तै नेकपा एसका जवा शाही ५ सय ५३ मतसहित तेस्रो स्थानमा उक्लिएको छ ।
वडामा पाँचको ५ नै
यो समाचार तयार पार्दासम्म ३२ वडाको नतिजा सार्वजनिक हुँदा नेकपा एमालेले ५ वटा वडामा जित निकालेको छ । जसमा सिरिजंघा ३, मोलुङ ५, दुल्लु १३, रामगोपालपुर २, शुद्धोधन गाउँपालिका १ मा एमालेले जित निकालेको छ । महोत्तरीको रामगोपालमा माओवादीबाट वडाध्यक्ष खोसेको एमालेले कांग्रेसबाट सिजंगा, मोलुङ र शुद्धोधनमा नयाँ जित हात पारेको हो । यस्तै एमालेले यसअघि जितेको डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ गुमाएको छ । उपनिर्वाचनमा यो वडाबाट माओवादीका नरबहादुर झाँक्री विजयी भए । उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित बन्दा एमालेका नरबहादुर रोका ११६ मतमा चित्त बुझाउन बाध्य भए ।
त्यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाको कन्काइ ६ बाट एमालेले वडाध्यक्ष गुमाएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित निर्वाचित हुँदा एमालेका तुलाराम बस्नेत ३५६ मतमा सिमित बने । यो वडामा २०७९ को निर्वाचनमा एमालेका दीर्घबहादुर थापा ५०८ मतसहित निर्वाचित भएका थिए । त्यस्तै, यो उपनिर्वाचनमा एमालेले गोरखा–१२ पनि गुमाएको छ । ७९ को निर्वाचनमा एमालेका खिलबहादुर राना ४५३ मतसहित निर्वाचित गोरखा १२ मा यो पटक माओवादीका विष्णुबहादुर मगर ४८६मतसहित निर्वाचित भए । बझाङको सूर्मा पनि एमालेले गुमाएको छ । यसअघि यहाँ एमालेका एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित विजयी भएकोमा अहिले कांगेसका धीरेन्द्र पुजरा ६५७ मतसहित विजयी बने ।
एमालेले सुनसरीको गढी गाउँपालिका ६ पनि गुमाएको छ । यहाँ २०७९ को निर्वाचनमा एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित बनेका थिए तर उपनिर्वाचनमा यो वडा कांग्रेसले खोसेको छ । समग्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बोनस जितेको एमालेले वडामा भने खासै प्रगति गर्न सकेको देखिएन । मतगणना बाँकी रहेका वडामा जित निकाल्न नसके एमालेले पाँच वडामै चित्त बुझाउन बाध्य हुनेछ ।