धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसबाट जिसस कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो । शपथ ग्रहण कार्यक्रममा जिसस कैलालीका पदाधिकारी, कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायतको उपस्थिति रहेको थियो ।