धनगढी: सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा निर्माण भएका १२ वटा घर शुक्रवार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ दानुवाफाँटाका १२ घरपरिवार मुक्त कमैयालाई उक्त नवनिर्मित सुरक्षित आवास हस्तान्तरण गरिएको हो । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको लागत साझेदारीमा उक्त घरहरू निर्माण गरिएका हुन । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, वडाअध्यक्षहरु, ह्याविट्याट् र दलित नेटवर्कका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
१२ वटा घर निर्माणका लागि ८० लाख ९४ हजार पाँच सय ९४ रुपैयाँ खर्च गरिएको जनाइएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार तीन सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार दुई सय ६२ रुपैयाँ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको लेखा परीक्षण मार्फत सार्वजनिक गरिएको छ । सुरक्षित आवास विहीन परिवार घर निर्माणसँगै हस्तान्तरण भएपछि खुसी भएका छन् । ४२ घर धुरी रहेको यो मुक्त कमैया बस्तीमा अब ३० घर बन्न बाकी छन् । उनीहरूको घर समेत निर्माण गर्न स्थानीय पालिका, सरोकारवाला संस्था र प्रदेश सरकार बिच समन्वय भई निर्माण हुने जनाइएको छ ।गोरखापत्रबाट