धनगढी । कैलालीको धनगढीमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले सडक र सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन थालेको हो । अतिक्रमण हटाउन एक हप्ताभित्रै फिल्डमै गएर अतिक्रमित क्षेत्रमा रेखाङ्कन गरिने भएको छ । गत वर्ष उपमहानगरले ५ किलोमिटर क्षेत्रमा खोलानालाको अतिक्रमण हटाएको थियो । यो वर्ष पनि खोलानालाको ५ किलोमिटर क्षेत्रमा गरिएको अतिक्रमण हटाइने तयारी छ ।
सडक क्षेत्र, खोलानाला, ताल तलैया र सार्वजनिक क्षेत्रमा भएको अतिक्रमण हटाउन उपमहानगरले गुरूयोजना नै बनाएको छ । गत वर्ष १३ वटा सार्वजनिक ताल र ५ किलोमिटरमा भएको खोलानाला अतिक्रमण हटाएको उपमहानगरले यो वर्ष पनि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको छ । सडक मापदण्ड, भवन निर्माण संहिता र भवन निर्माण मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने कामलाई यो वर्ष पनि निरन्तरता दिने डिभजनल इन्जिनियर दिजराज भट्टले बताए । ‘गत वर्ष अतिक्रमित १३ वटा ताल खाली गरेकोमा यो वर्ष पनि अतिक्रमणमा परेका ताल खाली गर्ने योजना छ ।
गत वर्ष भौतिक संरचना र खेत बनाइएका १३ तालको अतिक्रमण हटाइएको हो’, उनले भने, ‘ताल खाली गर्ने अभियानले यो वर्ष पनि निरन्तरता पाउने छ भने खोलानाला र सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन गुरूयोजना नै बनाइएको छ ।’ उपमहानगरपालिकाले गुरूयोजना नै बनाएर खोलानाला, ताल– तलैया, सडक र सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउने भएको छ । अतिक्रमण हटाउने कागजी प्रक्रिया सकेर आगामी हप्ताबाट रेखाङ्कन गरिने र लगत्तै अतिक्रमण हटाउन उपमहानगरले अतिक्रमित खोलानाला र ताल तलैया खाली गर्ने इन्जिनियर भट्टले बताए । उपमहानगरपालिकाले विगतमा नगर विकास समितिले नदी र खोलानालाको जग्गा समेत बिक्री गरेको थियो । तर, पानीको बहाउ क्षेत्र व्यक्तिको नाममा दर्ता भए पनि सेटव्यागभित्र कुनै संरचना बनाउन नपाइने नियम छ ।