धनगढी — कैलाली टीकापुरका कृष्णप्रसाद हमालको चाहना छोरा डाक्टर बनोस् भन्ने थियो । तर छोरा कालु भने कृषिमा रुचि राख्न थाले । पढाइ पनि कृषितर्फ गरे । छोरा कालु हमालले २०३९ सालमा रामपुर कृषि क्याम्पसबाट बीएस्सी (एजी) पूरा गरेका थिए । कृषिमा स्नातक उत्तीर्ण हमाललाई अहिलेजस्तो कृषि प्राविधिकको जनशक्ति प्रतिस्पर्धा नभएको त्यसबेला सरकारी जागिर चाहेको भए सहजै हुन सक्थ्यो । तर हमाललाई त्यसतर्फ आकर्षण नै भएन । पढाइ पूरा गरेलगत्तै हमालले २०४० सालमा टीकापुर फर्केर केरा खेती सुरु गरे । उबेला उनले रोजेको केराको व्यावसायिक खेती अहिले जस्तो सहज थिएन । केराका अनेक जात हुन्छन् । टीकापुर क्षेत्रमा कुन जातको केराको व्यावसायिक खेती हुन्छ भन्ने नै यकिन थिएन । त्यसका लागि विभिन्न जातको परीक्षण आवश्यक थियो ।
टीकापुरमै उपलब्ध हरिछाल जातका १० बोट केरा लगाएर उनले त्यही वर्ष खेती सुरु गरे । सयौं बिघामा व्यावसायिक केरा खेती गर्ने उद्देश्य लिएका हमाललाई परीक्षण गर्नै १६ वर्ष बित्यो । २०५६–०५७ सालतिर आएर बल्ल उनी ठूलो परिमाणमा केरा खेती गर्न सकिनेमा निश्चिन्त भए । ‘त्यसबेला आफ्नो करिब १४ बिघा र भाडामा थप जग्गा लिएर कैलालीको नारायणपुरमा ६/७ किलोमिटर पेरिफेरि क्षेत्रफलमा २६ बिघासम्ममा केरा खेती विस्तार गरें,’ हमालले भने । केराको व्यावसायिक खेती अध्ययनका क्रममा हमालले भारतमा गएका बेला केराका अनेक परिकार बन्न सक्ने कुरा थाहा पाएका थिए । त्यही सिकाइका आधारमा उनले केरा खेती विस्तारसँगै केराका परिकार मात्र बिक्री गर्ने रेस्टुरेन्ट टीकापुरमा पनि सञ्चालन गर्नेबारे सोच्न थाले । २०६३ सालमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइहाले । रेस्टुरेन्टको नाम राखे ‘बनानाज् रेस्टुरेन्ट’ । बनानाज् रेस्टुरेन्टमा केराका परिकारहरू मात्र उत्पादन गरेर बिक्री वितरण गर्न थाले । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय गरेर आफ्नै बारीमा उत्पादित केराकै चिप्स, चिया, कफी बनाउन थाले ।
सुरुका दिनहरूमा ग्राहकको बानी पार्नै उनलाई सकस हुन थाल्यो । अधिकांशलाई केराका अनेक स्वादिला खाद्य परिकार हुन्छन् भन्नेमा धेरैलाई जानकारी नै थिएन । ‘ग्राहकको बानी पार्न सुरुको केही समय त निःशुल्क पनि वितरण गरें । जब, ग्राहकको बानी पर्दै गयो र आकर्षण पनि बढ्दै गयो, त्यसपछि परिकारको संख्या बढाउँदै गएँ,’ ६५ वर्षीय हमालले भने, ‘आम्दानी पनि मनग्गे हुन थालेपछि परिकार संख्या बढाएर ४२ मा पुर्यायौं ।’ बनानाज् रेस्टुरेन्टले हमाललाई नाफा मात्रै दिएन, बेग्लै परिचयको उचाइ पनि दियो । हमाललाई सबैले ‘बनाना किङ’ का नामले चिन्न थाले । स्थानीय स्तरमा मात्रै होइन, ‘बनाना किङ’ चौतर्फी परिचय बन्यो उनको । केराको रोटी, तरकारीदेखि ब्रान्डीसम्म बन्न थाले । चुकाउनी, अचार, नम्किन, तरकारी, फिंगरचिप्स, पकौडा, मःमः, खिर, परौठा, स्विट बल, चिप्सहरू त भई नै हाले । त्यसपछि त रिसोर्टमा केराका परिकारहरूको स्वाद चाख्न आउनेहरूको झन् धेरै घुइँचो हुन थाल्यो । एकचोटि आएका ग्राहक फर्कीफर्की आउन थाले । रेस्टुरेन्टसँगै हमालले २०६६ सालतिर छोरा अनुजको नाममा टीकापुर पार्क नजिकै करिब साढे तीन कट्ठा क्षेत्रफलमा ‘बनाना रिसोर्ट’ पनि स्थापना गरे । रेस्टुरेन्ट चम्केकै थियो, रिसोर्ट पनि चम्कियो । टीकापुर पार्क पनि चल्न थालेपछि पार्क घुमघाममा आउनेहरू रिसोर्टमा आएर बनानाका परिकारका स्वादमा मग्न हुन थाले ।
तत्कालीन राजा महेन्द्रले २०२८ सालदेखि बसाएको टीकापुर नगरको परिचय केराका परिकार पाइने गन्तव्यका रूपमा स्थापित हुन गयो । ‘टीकापुरको परिचय नै बनाना रिसोर्टररेस्टुरेन्ट र टीकापुर पार्क भन्ने भयो,’ हमालले भने । हमालका अनुसार रिसोर्ट र रेस्टुरेन्ट राम्रो चल्न थालेपछि दैनिक २० हजारसम्मको केरा परिकारको उत्पादन र बिक्री हुन थाल्यो । ‘खेती, रेस्टुरेन्ट र रिसोर्ट गरी ४० जनालाई त प्रत्यक्ष रोजगारी दिएका थियौं,’ हमालले भने । केरा खेती सुरु गर्दा उनले केरालाई वैकल्पिक खाद्य स्रोतका रूपमा विकास गर्ने हमालको चाहनाले उनलाई ‘बनाना किङ’ को परिचय दियो । ‘कालु दाइलाई त सबैले बनाना किङ भनेरै चिन्छौं,’ टीकापुरका रमेश बोहराले भने । व्यवसायी हमालले केरामा रुचि राख्ने जिल्ला बाहिरका अन्य किसान र व्यवसायीहरूलाई केराका परिकार बनाउने तालिमसमेत दिँदै आएको उनले बताए ।
चार दशकअघि कृषि विषयका स्नातक हमाल व्यवसाय सुरु गर्दा होस् या अहिले उनको बुझाइ र दृष्टिकोण समान छ । उनलाई सरकारी सेवामा नगएकामा वा केरा व्यवसायमा लागेकामा कुनै पश्चाताप छैन, बरु गर्व गर्छन् । ‘म रिटायर्ड नहुने पेसा रोज्न चाहन्थें,’ हमालले भने, ‘म सँगै पढेर सरकारी जागिर गरेका साथीहरू अहिले रिटायर्डपछि दिक्दारीमा देखिन्छन् । म बिन्दास छु । ६५ वर्षको उमेरमा पनि नयाँनयाँ परियोजना सुरु गर्दै छु ।’ नेपाल र सुदूरपश्चिम आत्मनिर्भर बन्न सक्ने एउटै आधार कृषि पर्यटन हो भन्ठान्छन् हमाल । ‘हामीले बिक्री गर्ने भनेकै यहाँको एग्रो टुरिजम हो,’ उनी भन्छन्, ‘भारत र चिनियाँहरूका लागि नेपाल उत्कृष्ट गन्तव्य हो ।’
हमालकै दाबीमा ‘बनाना रेस्टुरेन्ट’ पनि एग्रो टुरिजमको उदाहरण हो । अहिले उनले ‘बनाना रेस्टुरेन्ट’सँगै रानी महल रिसोर्ट र दौलतपुर रिसोर्ट सञ्चालनका लागि पूर्वाधार तयार गरिरहेको हमालले बताए । रानी महल रिसोर्ट चिसापानीस्थित राष्ट्रिय गौरवको सिँचाइ आयोजना रानी, जमरा, कुलरिया सिँचाइ कुलोको इतिहाससँग जोडिएको छ । रानी, जमरा, कुलरिया सिँचाइ कुलो १९५३ सालमा निर्माण भएको बताइन्छ । उक्त कुलो निर्माण गराउने रानीकै महल भएको जग्गामा रानी महल रेस्टुरेन्ट सञ्चालन गरिरहेको हमालले बताए । ‘कर्णाली किनारमा रहेको त्यस ठाउँको बेग्लै महत्त्व छ,’ हमालले भने, ‘रानी महलमा पर्यटकहरूका लागि थप सेवासुविधासहित केराकै परिकारहरू उपलब्ध गराउने लक्ष्य छ ।’
नेपालमा उपलब्ध फलफूलहरूलाई खाद्यका रूपमा प्रयोग गर्न सके खाद्यान्न अभाव पनि न्यूनीकरण हुँदै जाने उनको भनाइ छ । ‘मैले केराको परिकारलाई ब्रान्डिङ गरें, अर्को व्यवसायीले सुन्तला गर्न सक्छ, कसैले आँप त अर्कोले स्याउ गर्न सक्छ,’ हमालले भने, ‘बाहिरका उत्पादन आएर धानिएका हामीहरूसँग बजारको कुनै अभाव छैन,’ हमालले भने, ‘सरकारले केवल वातावरण बनाइदिए हुन्छ ।’ केरा आफैंमा बहुउपयोगी खाद्य उत्पादन हो । खाद्य वस्तु मात्रै होइन केराका अनेक स्वास्थ्य फाइदाहरू पनि छन् । स्वास्थ्यकर्मीहरूका अनुसार मधुमेह, उच्च रक्तचाप, युरिक एसिडलगायत स्वास्थ्य समस्याहरूमा केराका परिकारहरू उपयोगी मानिन्छन् ।
केरामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फाइबरलगायतका तत्त्वहरू पाइन्छन् । बनाना रेस्टुरेन्टमा उपलब्ध हुने केराको जुस निकै प्रख्यात छ । पोसिलो फलका रूपमा प्रयोग हुने भएकाले सबैका लागि केराको जुस उपयोगी हुने गरेको टीकापुरका धनबहादुर रावल बताउँछन् । केराको फल मात्रै खाद्य सामग्रीका रूपमा उपयोग हुने गरेको छ । केराको थाम र पातबाट विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्ने गरिएको हमाल बताउँछन् । केराबाट सजावटका लागि विभिन्न सामग्रीहरू पनि उत्पादन गर्ने गरिएको छ । यसरी टीकापुरका कालु ‘बनाना किङ’सँगै उनलाई विभिन्न मानसम्मान पनि प्राप्त भयो । २०७२ सालमा उनले दुई लाख रुपैयाँसहित राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार पनि पाए । तत्कालीन समयमा क्षेत्रीय र जिल्लास्तरबाट पनि उनी उत्कृष्ट कृषकसम्बन्धी थुप्रै पुरस्कारले सम्मानित भए । जेसिजको राष्ट्रिय युवा पुरस्कार र राष्ट्रिय कृषि अनुसन्धानबाट उत्कृष्ट कृषक पुरस्कारलगायत उनले प्राप्त गरेका पुरस्कार र सम्मानहरू हुन् । चार वर्षअघि अंशबन्डाको घरायसी झमेलामा अल्झिएको बताउने हमालले समस्या सल्टिन करिब पाँच वर्ष समय लागेको बताए । ‘चार वर्षअघि पारिवारिक अंशबन्डाको झमेलामा फसेर व्यवसायमा केही नोक्सानी भयो,’ हमालले भने, ‘रिसोर्ट छोरा अनुजको अंशबन्डाको भागमा पर्यो । तर छोराले रिसोर्ट राम्रोसँग चलाउन सकेन ।’
करिब पाँच वर्ष अंशबन्डालगायतका पारिवारिक झमेलामा अल्झिएका हमाल २०८० मंसिरमा पारिवारिक समस्याहरू सल्टिएपछि पुरानै लयमा फर्किन लागेको बताउँछन् । ‘अंशबन्डापछि हाल मेरो भागमा रहेको करिब तीन बिघामा केरा खेती छ । रेस्टुरेन्ट सञ्चालनमै छ । बनाना रेस्टुरेन्टकै जगमा टेकेर केराकै परिकारहरूको बजारीकरण गर्ने उद्देश्यले अब फेरि खेती विस्तार र थप दुई वटा बनाना रेस्टुरेन्ट व्यवसाय विस्तार गर्ने योजना छ,’ उनले भने । कैलाली सुदूरपश्चिममा ठूलो मात्रामा केरा उत्पादन हुने क्षेत्र हो । केरा खेतीको क्षेत्रफल हरेक वर्ष वृद्धि भइरहेको तथ्यांक छ । चिसापानीबाट सुरु भएको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना अन्तर्गत सञ्चालित कृषि कार्यक्रमले केरा खेती विस्तारका लागि अनुदान दिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा करिब ८ सय ७५ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ । वार्षिक २८ हजार मेट्रिक टनभन्दा बढी परिमाणमा केरा उत्पादन हुने गरेको छ ।कान्तिपुरबाट