दार्चुला : ब्यास गाउँपालिका–१ टिंकर र छाङरुका स्थानीयको मौसमी बसाइँसराई ९कुञ्चा० सर्न सुरु भएको छ । हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि स्थानीय बेंसी झर्न थालेका हुन् । दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको कुञ्चा प्रायः मंसिर पहिलो साताबाट सुरु हुन्छ । टिंकरका र छाङरुका केही परिवार सोमबार सरसामान र चौपायासहित सदरमुकामका लागि हिँडेको ब्यास–१ का अध्यक्ष अशोकसिंह बोहराले बताए । उनले टिंकरमा अत्यधिक चिसो हुन थालेकाले यो साताभित्र सबै परिवारको कुञ्चा हिँड्ने तयारी भइरहेको बताए । सदरमुकाम खलंगाबाट २८ कोष उत्तरमा पर्ने ३७०० मिटर उचाइको टिंकरका सौका समुदाय हरेक वर्ष ६ महिना बेंसीतिर र ६ महिनामात्रै गाउँमा बसोबास गर्ने परम्परा जस्तै छ । नेपालतर्फ सदरमुकाम आउने बाटो नहुँदा उनीहरु भारतको बाटो प्रयोग गरी खलंगा आउन लागेको वडाध्यक्ष बोहराले बताए ।
बुधबार टिंकरको एक कुञ्चा भारतको गर्बाधार भन्ने ठाउँमा पुगेको छ । टिंकरका बाँकी यो साता र छाङरुबाट १०/१२ दिनभित्र कुञ्चा सदरमुकाम पुग्ने तयारीमा रहेको उनले बताए । छाङरु र टिंकर पुग्न स्वदेशबाट बाटो नहुँदा भारतीय बाटो प्रयोग गरी आवतजावत गर्नुपर्ने बाध्यता छ । ‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ,’ ब्यास–१ टिंकरका मोहनसिंह तिंकरीले भने, ‘गाईबस्तुको क्वारेन्टाइन चेक गर्नुपर्छ, ठाउँ–ठाउँमा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार खेप्नुपर्छ । नेपालतर्फ बाटो भइदिए सहज आउनजान हुन्थ्यो ।’ वर्षमा एकमात्रै खेती हुने ब्यासका यी दुई बस्तीमा स्थानीय उवा र नप्पललगायतका अन्नबाली लगाउँछन् ।
गत वैशाख तेस्रो तथा चौथो साता लगाएको अन्नबाली भित्र्याएर कुञ्चा सदरमुकाम सर्न सुरु गरेको हो । उनीहरु चौपाया र सरसामानसहित वैशाख पहिलो साता भारतकै बाटो खलंगाबाट थातथलो उक्लिएका थिए । दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको ब्यासको छाङरु गाउँमा १ सय ४० र टिंकरमा ७१ जनाको बसोबास रहेको ब्यास–१ वडा कार्यालयले जनाएको छ । आफ्नो मौलिकता, ऐतिहासिक र सांस्कृतिक पहिचान भएका आदिवासी जनजाति ब्यासी सौका समुदायको दार्चुलाको ब्यास–१ छाङरु, टिंकर, वडा–२ दुम्लिङ, राप्ला र अपिहिमाल गाउँपालिकाको सितोला गाउँमा मात्र बसोबास छ । छाङरु र टिंकरबाहेक गाउँमा बाह्रै महिना यो समुदायका मानिसको बसोबास रहन्छ ।