धनगढी । कैलालीमा वस्तु विनिमय प्रचलन कायमै रहेको छ । खास गरेर ग्रामीण क्षेत्रमा वस्तुसँग वस्तु साट्ने कार्य हुँदै आएको हो । निम्न आयस्तर भएका वा कृषक परिवारले धान, गहुँ, मुसुरो, लसुन जस्ता जिन्सी बाली दिएर खुर्सानी, प्याज, आलु, सिद्रा, सिँगडालगायतका वस्तु लिने गरेका छन् । चाडपर्वदेखि लिएर अन्य बेला यस्ता चिज खानका लागि उनीहरूले आफ्ना जिन्सी बालीले साट्दै आएका हुन् ।
ग्रामीण क्षेत्रमा वस्तु विनिमयको प्रचलन पहिल्यैदेखि रहेको कैलारी गाउँपालिका–७, रतनपुरका कमलप्रसाद चौधरीले बताए । अहिले पनि वस्तु दिएर वस्तु साटी गाउँघरमा आफ्नो आवश्यकता पूरा गर्ने प्रचलन छ ।
चौधरीका अनुसार विगतमा भारतीय व्यापारी गोरुगाडा डल्लपमा खुर्सानी, आलु लिएर गाउँ गाउँ आउने गर्दथे । अचेल बढी जसो व्यापारी साइकलमा यस्ता वस्तु लिएर पुग्ने गरेका छन् । गाउँघरका मानिससँग नगद पैसा त्यति नहुने गरेका कारण उनीहरूले आफूसँग भएको जिन्सी वस्तु दिएर आलु, खुर्सानी लिने गरेका बताइएको छ ।
धानको सिजनमा धान र गहुँ, मुसुरोको सिजनमा गहुँ, मुसुरो दिएर स्थानीयले आफूलाई चाहिने दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन् । यस्तै लसुन पनि आलु र सिद्रासँग साट्ने गरेको स्थानीय कालीदेवी डगौराले बताए ।