बैतडी: सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिजियर गोविन्द देवकोटाले बताए । प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब ११० घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताए । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ । “खानेपानीको स्थलगत अध्ययन गर्न बैतडीबाट दार्चुला सदरमुकाम हुँदै भारतको बाटो भएर छाङरू पुग्यौँ,” डिभिजन कार्यालय प्रमुख देवकोटाले भने, “आइतबार बैतडीबाट दार्चुला पुग्यौँ । सोमबार दार्चुलाबाट भारतको धार्चुला हुँदै महाकाली नदीको सीता पुल तरेर छाङरु पुग्यौँ ।”
अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको देवकोटाले बताउनुभयो । स्थानीय प्रकाश बोहराले छाङरुमा खानेपानीको योजना लागू हुने भएपछि खुसी लागेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधि कार्यालयमा रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीको योजना निर्माण गर्दै आइरहेको छ । कार्यालयमार्फत चालु आ.ब.२०८१/०८२ मा मर्मतसहित २९० योजना कार्यान्वयनमा छन् । दार्चुलामा मात्रै गत वर्षसम्म ३० वटा योजना सम्पन्न भएका छन् भने चालु आर्थिक वर्षमा ७९ योजना सञ्चालनमा छन् । यो वर्ष छाङरुमा खानेपानी पुर्याउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने बजेट रहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।