बैतडी: नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् । सामरिक महत्वका दृष्टिले प्रसिद्ध मानिएको शर्मालीगढी किल्ला संरक्षण गर्ने उद्देश्यले डिपिआर बने पनि बजेट विनियोजन नगरिँदा काम अघि बढ्न नसकेको हो । बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धका बेला निर्माण भएको थियो । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको बताइन्छ ।
किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार वर्षअघि डिपिआर तयार गरेर पर्यटन मन्त्रालय र पुरातत्व विभागमा पेस गरे पनि बजेट नआउँदा संरक्षणको काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । डिपिआरमा किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न योजना बनाइएको छ ।