कञ्चनपुर: मकवानपुरको हेटौडाका तीन जनाले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । जलवायु न्यायका लागि भन्दै उहाँहरुले मेची–महाकाली साइकल यात्रा गरेका हुन् । हेटौडाका ६९ वर्षीय कृष्णप्रसाद आचार्य, बरुण खतिवडा र पृथ्वीबहादुर रायमाझीले कार्तिक २४ गते सुरु गरेको साइकल यात्रा सोमबार सम्पन्न भएको छ । मेचीको काँकडभिट्टादेखि सुरु भएको साइकल यात्रा महाकालीको गड्डाचौकी पुगेर सम्पन्न भएको हो ।
जलवायु परिवर्तन भइरहेको वर्तमान अवस्थामा धुँवारहित सवारी साधनको प्रयोगमा बढवा दिनुपर्ने सन्देश दिने आफूहरुको उद्देश्य रहेको यात्री कृष्णप्रसाद आचार्यले बताए । ‘चिन र भारत ठूला छिमेकी राष्ट्रमा अत्यधिक मात्रामा कार्बन उत्सर्जन भइरहेको छ, हावाको कुनै सीमा हुँदैन, त्यसको असर नेपालमा पनि परिरहेको छ’ यात्री आचार्यले भन्नुभयो, ‘त्यसैले जलवायु न्याय र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गरेका हौँ ।’
उहाँहरु हिमालयन राइडर्स सोसाइटी मकवानपुरमा आबद्ध हुनुहुन्छ । हिमालयन राइडर्स सोसाइटीम आबद्ध १३ जना यात्रीले गत वर्ष पनि जलवायु न्यायका लागि मेची–महाकाली साइकल यात्रा गरेका थिए ।