धनगढी: कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी (भुल) को उम्मेदवारी दर्ता भएको छ। नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका वडा नम्बर २ को महिला वडा सदस्यमा निर्वाचित चौधरीको नेपाली काँग्रेस र नेकपा एमालेको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएको हो । कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ। समन्वय प्रमुखको उप–निर्वाचन मंसिर १६ गते हुँदैछ। उनको उम्मेदवारीको प्रस्तावकमा कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन्। कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनसँग कूल २५ मध्ये १३ मत रहेको छ।
सत्ता गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्ट र एमालेका कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले संयुक्त रुपमा अपिल गरेका छन्।