काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको छ । उनी २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख बनेका थिए । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइपुर्याउँदा उनको निधन भइसकेको थियो । ८३ वर्षको उमेरका उनको निधन भएको हो । ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय वकालत पेश अंगाले ।
नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । यस हिसाब उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए । २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । ०४८ देखि ०५१सम्म उनी सभामुख भएर काम गरे । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।
माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् । उनी भन्ने गर्थे,‘लोकतन्त्रका लागि जति मैले काम गरें, त्यति काम पार्टीका लागि गर्न सकेको छैन ।’ ढुंगानाले २०२८ सालदेखि वकालत पेशामा लागेका हुन् । ०४६ साल सम्म सक्रिय वकालतमा थिए । बहुदलीय व्यवस्थपछि पार्टी राजनीतिमा सक्रिय भए । वकालतमा आउनु अघि ढुंगाना केही समय शिक्षक समेत भएका थिए ।