धनगढी । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुन लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर २ गते आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुने छ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एकरएक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् ।
पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमार्फत ४२ पदको मनोनयन दर्ता हुने छ । जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुने छ । ओखलढुङ्गामा जिल्ला निर्वाचन अधिकारी र कैलालीमा प्रदेश निर्वाचन अधिकारी निर्वाचन अधिकृतको भूमिकामा रहनुहुने छ ।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ अनुसार मनोनयनपत्र दाखिला गर्दा वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने छ ।
आचारसंहिता लागु
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जनाएको छ ।
आयोगका प्रवक्ता पोखरेलले आयोग पदाधिकारीको मङ्सिर १ गतेको बैठकबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो । आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुने छ ।