बैतडी–संयुक्त बजार अनुगमन समितिले बैतडीको देहीमाण्डौंमा बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा शुक्रबार बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा देहीमाण्डौंमा २५ ओटा पसल अनुगमन गर्दा ६ ओटा पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले जानकारी दिए ।
ती पसलहरुबाट ६ हजार ६ सय ३० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी सबैको रहोबरमा नष्ट गरिएको कठायतले बताए । बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको कठायतले बताए । पहिलाको तुलनामा बजारमा केही सुधार आएको भएपनि पूर्ण रुपमा सुधार हुन बाँकी रहेको उनले बताए । बजार अनुगमनलाई स्थानीय तहहरुले समेत निरन्तरता दिनुपर्नेमा कठायतले जोड दिए । यसका साथै उपभोक्ताहरुले समेत सचेत हुनुपर्ने उनले बताए ।