डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘जुनसुकै पार्टीका भए पनि सहकारी ठगीमा संलग्नलाई कारबाही हुन्छ,’ उनले भने, –सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको छ ।’ उनले डडेल्धुरामा पनि शिवशिखर सहकारीले ठुलो रकम ठगी गरेको बताउँदै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।
सभापति देउवाले ०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूँ लड्नेरलड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए । ०८४ को निर्वाचन पनि तपाईँले नै लड्नुहुन्छ रु भन्ने पत्रकारको प्रश्नमा मुस्कुराउँदै देउवाले भने, ‘मलाई भोट हाल्नेलाई सोध्नुस् ।’ देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूँले आवासन नदिएको दाबी गरे । ‘पहाडमा पूर्वाधारको अभाव भएका कारण राजधानी बनाउन समस्या भएको हो भनेर बोलेको हुँ,’ उनले भने, ‘राजधानी नै सार्छु भनेको छैन । डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको हो ।’ उनले डडेल्धुराको भित्रीमधेस क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल पनि बन्ने दाबी गरे । भारतका प्रधानमन्त्रीले पुल निर्माणका लागि आश्वासन दिएको भन्दै उनले पुल निर्माण हुने बताए ।
डडेल्धुरामा विमानस्थल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढ्ने उनको दाबी थियो । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । लिखित सहमितअनुसार अहिलेको गठबन्धन ०८४ सालसम्म नै चल्ने बताएका हुन् । ‘सुरुको दुई वर्ष एमाले र त्यसपछि काँग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति छ,’ उनले भने, ‘सोही सहमतिअनुसार सरकार अगाडि बढ्छ ।’