धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । मालिकार्जुन मन्दिरको जात्रा दर्शनपछि घर फर्कने क्रममा जिप दुर्घटनामा डिलाशैनीका २ जनासहित ८ जनाको मृत्यु भएको छ । दर्शनार्थीहरू चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिएको शोक वक्तत्व जारी गर्दै जनाएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आज एक दिन गाउँपालिकामातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको उल्लेख गरिएको छ ।
दुर्घटनामा परी भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर-९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ४५ वर्षीय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षीय सुजिब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका-८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका-९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन। शैल्यशिखर नगरपालिका(५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका छन्।