काठमाडौं । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालय बोलाएर गुरुङसँग घटनाबारे सोधपुछ गरेर कागज गराइएको सीआईबीका एक अधिकृतले बताए । उनीसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो । गुरुङविरुद्धको किटानी जाहेरी समेत प्रहरीले लिन नमानेको आरोप थियो । यो घटनामा गुरुङ पत्नी ज्योतीविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।
उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ प्रहरीको भनाइ छ । यो समस्या आएपछि संस्था सञ्चालक समितिका ९ जना सदस्यसहित उपसभापति गुरुङ, उनकी पत्नी ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्ने मौखिक प्रतिबद्धता व्यक्त गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङ बताउँछन् । त्यो पूरा नभएपछि संस्था संकटमा परेको उनको भनाइ छ । ज्योतीले २०५७ सालबाट यो सहकारीमा बचत संकलनकर्ताका रुपमा जागिर सुरु गरेकी थिइन् । राजनीतिक पहुँच अनि संस्थाका पदाधिकारीहरुको विश्वास जित्दै गएपछि उनी २०७० सालमा कोषाध्यक्ष बनिन् । पछि महाप्रबन्धक समेत बनिन् ।
अनुसन्धान अधिकृतहरुका अनुसार, ज्योतीले १६ जना रकम संकलनकर्ताले ल्याएको रकममध्ये १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएकी थिइन् । प्रहरीले भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गराएको छ । जतिबेला ज्योतिको बदमासी सहकारीका पदाधिकारीले थाहा पाए, त्यसबेला उनले श्रीमान् धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । रकम डुबेपछि दायित्वबाट उम्किन सम्बन्ध विच्छेद गरिएको मितेरी सहकारीका पदाधिकारीहरुको आरोप छ ।
एमाले सांसद् सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनमा पनि ‘मितेरी सहकारीमा कार्यरत् ज्योती गुरुङले पति धनराज गुरुङ्गसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा’ रहेको उल्लेख छ । यस्तोमा संसदीय समितिले सहकारी संस्थाका तर्फबाट ‘ज्योती गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन निर्देशित’ गरेको भनेको थियो ।
यो प्रकरण सतहमा आएपछि उपसभापति गुरुङले ऋणमध्ये केही रकम तिरेको समेत खुलेको थियो ।