धनगढी: सुदूरपश्चिममा पहिलो सुक्खा बन्दरगाह निर्माणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र तयारी थालेका छन् । गत असोज २ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२।३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो। त्योसँगै सरकारले रुख कटानी आदेश पनि दिएको छ । अहिले रुख कटानीको लागि वन मन्त्रालयले प्रक्रिया अगाडी बढाएको छ ।
सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा १ हजार ७०२ वटा रुख कटानको निर्णय सकारले गरेपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेले जग्गा भोकादिकार र रुख कटानी निर्णय पछि सुक्खा बन्दरगाह निर्माण प्रक्रियामा अब ठूलो अवरोध नभएको हुँदा चाँडै संरचना निर्माण सुरु हुने बताए। ‘सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ४२।३६ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय भएको छ’ उनले भने, ‘अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ।’ उनका अनुसार सुक्खा बन्दरगाह भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुनेछ। बन्दरगाह निर्माणका लागि भारतीय पक्षले पनि टेन्डर प्रक्रिया अगाडि बढाएको छ। बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र काम सक्ने भारतीय पक्षले जनाएको छ। सुक्खा बन्दरगाह निर्माणका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुक्खा बन्दरगाह निर्माण सँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने बताए । उनले पटक पटकको संवाद ,छलफल र बैठकपछि सुक्खा बन्दरगाह निर्माणले गति पाउन थालेको बताए । ‘यहाँबाट भारतको राजधानी निकै नजिक पर्छ अब आयात र निर्यातको लागि यो बन्दरगाह निकै महत्त्वपूर्ण रहन्छ उनले भने ‘दोधारा चाँदनी बन्दरगाहले प्रदेशको मात्रै होइन देशको संवृद्धिको ढोका पनि खोल्ने छ । दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगहरूका शाखाहरूसमेत नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । कार्तिक ७ मा प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्णस्थलको निरीक्षण गर्दै उद्योग मन्त्री भण्डारीले मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निर्माणको काम सुरु गरिने बताएका थिए ।
‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निर्माणको काम थालनी हुनेछ, छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरी सरकारले उच्च प्राथमिकतामा राखेको छ‘ उनले भनेका थिए ,‘सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ ,यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभई सिङ्गो देशले आर्थिक फड्को मार्ने छ ।’ उनले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए । सुक्खा बन्दरगाह निर्माण सँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भन्दै उद्योगी व्यवसायीहरू पनि उत्साहित छन् । उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अनिल कुमार भोजनीयाले उद्योगी व्यवसायीहरूले खेपिरहेको मार पनि कम हुने विश्वास व्यक्त गरे ।
‘अहिले लामो बाटो प्रयोग गरेर यहाँ सामान ल्याउनुपर्ने बाध्यता छ’, उनले भने, ‘यो नाकाबाट भारतका औद्योगिक क्षेत्रहरू छोटो दूरीमा रहेकाले यहाँको व्यापारको लागत र समय घटाउँछ।’ यो नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको छ। सुक्खा बन्दरगाहमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो। त्यसपछि पटक पटक अध्ययनका लागि टोली आएपनि काम अगाडि बढ्न सकेको थिएन।
मन्त्री भण्डारीले तीव्रता दिएपछि भारतले अर्को महिनासम्ममा यहाँको टेन्डर आह्वान गर्ने समेत जनाएको छ । ‘कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा प्रयोग र रुख कटान सम्बन्धी निर्णय मिति मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भई निर्माण प्रक्रिया अगाडि बढेको छ’ चालु आर्थिक वर्ष २०८१र०८२को वार्षिक कार्य योजनामा समावेश भएकामध्ये पहिलो १०० दिनको अवधिमा सम्पन्न भएका कामहरूको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री भण्डारीले भनेका थिए ।