धनगढी: छठ पर्वको मुख्य दिन बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । बिहीबार धनगढीको मोहनाघाटमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु धनगढीको मोहना घाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए । कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
धनगढीमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरीलगायतका जलासयमा पनि छठपूजा गरिएको छ ।
सुरुका वर्षमा मोहनाघाट पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब दुई लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेको बताइएको छ । पछिल्लो समय छठ पर्वमा तराईबासी बाहेक पहाडी समुदायको सहभागिता समेत बढ्दै आएको छ । पहाडी समुदायले समेत छठ पुजा गर्दै आएका छन् ।
छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको छ । छठको पहिलो दिन ब्रतालुहरुले नहाय–खाय विधि गर्छन् । यस दिनमा ब्रतालुहरुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनिधो खाएर व्रतको सङ्कल्प गर्दछन् । त्यस्तै दोस्रो दिन नहाय–खाय गरेका ब्रतालुले दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खरना विधि पूरा गर्छन् । तेस्रो दिनलाई सँझिया अर्घ अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । पर्वको चौथो दिनअर्थात् अन्तिम दिनलाई विहनिया अर्घ पारण भनिन्छ । चौथो दिनको विहान सूर्य उदाउनुअघि नै घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ ।