टीकापुर: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताएका छन् । कैलालीको जानकी गाउँपालिका –१ बेलासपुरस्थित कालिका आधारभूत विद्यालयमा शुरु भएको ज्ञान विज्ञान धार्मिक महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निर्वाचन हुँदा भिन्न भिन्न पार्टीबाट चुनिए पनि सबै तहका सरकारको मुख्य काम स्थानीय विकास गर्नु भएकाले सबै तहका जनप्रतिनिधिबिच सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताए ।
उनले स्थानीय तहसँग सहकार्य गरी ठोस आयोजना अघि बढाउन प्रदेश सरकार लागिरहेकाले एक अर्काको अस्तित्व स्वीकार गरी मिलेर काम गर्ने परिवेश बनाउन आग्रह गरे । ‘जनतालाई अधिकार सम्पन्न बनाउन भएको आन्दोलनमा उठेको आवाज अनुसार संविधानले पनि पहिचान, संस्कार र धार्मिक आस्था जोगाउन सबै समुदायका सनातन धर्म संस्कृतिलाई जोगाउन खोजेको छ’ मुख्यमन्त्री शाहले भने, ‘धार्मिक कार्यक्रमले देशभित्रका समुदायबिच आपसी सदभाव र एकता गर्छ, एकता भए पहिचान जोगिन्छ ।’
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधार, पचिानसहितको जानकी विकासको मूल आधार’ भन्ने तय गरेको र महायज्ञले आध्यात्मिक ज्ञान दिने र विद्यालयको विकास हुने भएकाले अन्य महायज्ञभन्दा फरक ठानी गाउँवासीले लाभ लिन र सहयोग गर्न आग्रह गरे ।