बैतडी: बैतडीको सुर्नया गाउँपालिका –३ गोयली स्थित भौनेली मन्दिरमा जात्रा लाग्दै छ । आज २१ गते राति मन्दिरमा भव्य जात्रा लाग्ने भएको हो । कार्तिक शुक्ल प्रतिपदा देखि पूजाआजा सुरु भएको मन्दिरमा आज पञ्चमीका दिन भव्य जात्रा लाग्ने पूजारी भुवन प्रसाद भट्टले जानकारी दिए ।
यो मन्दिरमा ३ दशक पछि जात्रा लागिरहरेको छ । जुठो नपरेको समयमा पूजाआजा भैरहने भौनेली मन्दिरमा ३० पर्ष पछि पहिलो पटक जात्रा हुन लागेको हो । स्थानीयका अनुसार पर्वको बेला कहिले काहीँ पूजाआजा भैरहने भएपनि जुठो पर्ने लगायतका विभिन्न समस्याका कारण २०४७ साल यता भौनेली मन्दिरमा जात्रा लागेको थिएन् ।पञ्चमीको राति भौनेली देवताको गातमा पूजाआजा गर्ने चलन रही आएको छ । रातिको समयमा हुने जात्रामा भक्तजनको घुईचो लाग्ने गरेको छ।
भौनेली देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यो मन्दिरमा गोयलीका मात्रै नभएर विभिन्न ठाउँबाट दर्शनार्थीहरु जात्रामा पुग्ने गरेका छन् ।